काठमाडाैं । सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ प्रतिनिधि सभाबाट पारित भएको छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकबाट साे विधेयक बहुमतले पारित भएकाे हाे । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पेस गर्नुभएकाे सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ लाई पारित गरियाेस् भन्ने प्रस्तावलाई निर्णयार्थ पेस गर्दै सभामुख देवराज घिमिरेले बहुमतले पारित भएकाे घाेषणा गर्नुभयाे ।
त्यसअघि सांसद् प्रेस सुवालले विधेयकमाथि राख्नुभएकाे विराेधकाे सूचना बैठकले बहुमतले अस्वीकृत गरेकाे थियाे । बैठकमा विधेयकमाथि सामान्य छलफल भएकाे थियाे । छलफलका क्रममा सांसद्हरुले उठाएका प्रश्नकाे सञ्चारमन्त्री शर्माले जवाफ दिनुभएकाे थियाे ।
राष्ट्रिय सुरक्षासँग जोडिएका विभिन्न ६ प्रकारका सरकारी कागजात (नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमतिपत्र) सुरक्षित मुद्रण केन्द्रबाट नै छपाई गर्ने व्यवस्था विधेयकमा गरिएकाे छ ।
राष्ट्रिय सभाबाट साे विधेयक पारित भइसकेकाे छ । राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयकलाई प्रतिनिधिसभाले पनि पारित गरेकाले अब प्रमाणीकरण भएपछि कार्यान्वयनमा जानेछ ।
