काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद् राजेन्द्रकुमार केसीले प्रतिनिधि सभाकाे राेष्ट्रममा उभिएर फरक विषयमा बाेलेपछि बैठकमा हाँसाे गुञ्जिएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा विनियाेजन विधेयककाे विषयमा बाेल्नुपर्नेमा सांसद् केसी सुरक्षण मुद्रणसम्बन्धी विधेयकबारे बाेलेपछि सदनमा हाँसाे गुञ्जिएकाे हाे ।
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफल चलिरहेको थियो । बाेल्ने पालाे आयाे सांसद् केसीकाे । राेस्ट्रममा पुग्नासाथ उहाँले बाेल्न थाल्नुभयाे - सुरक्षण मुद्रणसम्बन्धी विधेयकबारे । 'शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको राष्ट्रिय सभामा उत्पति भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयकमा हामी छलफल गर्दैछाैं, यो अत्यन्त संवेदनशील...'- केसीले भन्नुभयाे ।
लगत्तै सभामुख आसनमा बस्नुभएका उपसभामुख इन्दिरा रानाले विनियोजन विधेयक भएको बताउनुभयाे । अनि केसीले भन्नुभयाे - 'सुरक्षण विधेयकमा छलफल हाेइन ?' । उपसभामुख रानाले दाेहाेर्याउनुभयाे - 'हाेइन विनियोजन विधेयक, २०८१ ।' त्यसपछि बैठकमा हाँसाे गुञ्जियाे ।
त्यसपछि केही बेर अक्कमक्क पर्नुभएका केसीले हाँस्दै बाेल्न थाल्नुभयाे । सुरक्षण मुद्रणबारे बोल्ने भन्दै सांसद् केसी विनियाेजन विधेयकबारे नबाेली रोष्ट्रमबाट फर्किनुभयाे । '२०८१ को विनियोजन विधेयकमा म केही कुरा राख्न चाहन्छु, वास्तवमा ०८१-८२ मा जुन विधेयक भएको छ यसमा, म चाहिँ समग्र रूपमा सुरक्षण मुद्रणसम्बन्धी विषयमा बोल्न आएको थिएँ, यद्यपि अब विनियोजन विधेयकमा पनि छलफल गर्नुपर्ने भएकाे हुनाले, मलाई लाग्छ मैले तल्लोमा बोल्ने हिसाब थियो मेरो, म अर्को पटक यसैमा बोल्ने हिसाब गर्दछु- उहाँले भन्नुभयाे ।
सांसद् केसी छलफलकाे विषयमा झुक्किएकाे यस घटनाले राष्ट्रिय सभामा गत वर्ष असारमा भएकाे घटना स्मरण गराएकाे छ ।
यद्यपि राष्ट्रिय सभामा भएकाे साे घटना भने संसदीय व्यवस्थाकै भद्दा मजाक बन्ने घटना थियाे । ०८० असार २९ मा तत्कालीन मन्त्री उद्योग वाणिज्य मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेपछि राष्ट्रिय सभामा सांसद्हरुले इ-कमर्स सँग सम्बन्धित विद्युतीय व्यापार विधेयकमा बाेल्नुपर्नेमा विद्युतको व्यापारबारे बाेले । सांसद्का प्रश्नकाे जवाफ दिने क्रममा स्वयंम् मन्त्री रिजालले विद्युत व्यापारकै कुरा गर्नुभयाे । जबकी साे विधेयक कुनै पनि वस्तु, खाना लगायत सामान अनलाइनबाट किनबेच गर्ने व्यापार सम्बन्धमा नाकी विद्युत व्यापारबारे । पछि तत्कालीन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साे विधेयक विषयबारे प्रश्न उठाउनुभएकाे थियाे ।
