काठमाडाैं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद् बद्रीप्रसाद पाण्डेले अछामकाे बयलपाटा अस्पतालका लागि तत्काल ९-१० करोड रुपैयाँ विशेष अनुदान दिन सरकारसँग माग गर्नुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् पाण्डेले अछामको बयलपाटा अस्पताल बजेटको अभावमा बन्द हुने अवस्थामा पुगेको भन्दै असार मसान्तभित्रै विशेष अनुदानकाे व्यवस्था गर्न माग गर्नुभयाे । याे आर्थिक वर्षभित्र कम्तिमा पनि ९-१० कराेड विशेष अनुदानकाे व्यवस्था गरेर बयलपाटा अस्पताललाई सञ्चालन गर्न उहाँले सरकारसँग माग गर्नुभयाे ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, प्रधाननमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनलाई पनि आग्रह गरेकाे सांसद् पाण्डेले बताउनुभयाे ।
त्यहाँ बिरामीहरुले राम्राे सेवा सुविधा पाइरहेकाे, बिरामीलाई अत्याधुनिक सेवा सुविधा दिइएकाे भन्दै उहाँले साे अस्पताल बन्द भए ठूलाे क्षति हुने बताउनुभयाे । त्यहाँका डाक्टर र कर्मचारीले महिनाैदेखि तलब नपाएकाे सांसद् पाण्डेले बताउनुभयाे ।
काेभिड महामारीपछि अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त हुने अनुदान कम भएपछि सुदूरपश्चिम सरकारसँग लागत साझेदारी भएकाे र त्यसकै आधारमा ३ वर्षकाे बजेटमा लगातार अनुदान प्राप्त भएकाे उहाँले स्मरण गर्नुभयाे । २०८० र ८१ काे बजेट भाषणमा प्रदेश सरकारले बजेट नछुट्याएकाे र त्यसले कठिन अवस्था सृजना भएकाे सांसद् पाण्डेले बताउनुभयाे ।
सुदूरपश्चिम सरकारलाई यस वर्ष बजेट व्यवस्था गर्न आग्रह गरिएकाे उहाँले बताउनुभयाे ।
