काठमाडाैं । नेकपा एमालेकम सांसद् ठाकुरप्रसाद गैरेले थन्किएर बसेका सरकारी यातायातको साधनहरूको बिक्री गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ
मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् गैरेले देशभर बिग्रेर बसेका सवारी साधनहरूको तत्काल बिक्री गरी त्यसबाट आउने रकमको सदुपयोग सम्बन्धी विशेष कार्यक्रम ल्याउन सरकारसँग माग गर्नुभयाे ।
उहाँले यसबारे रुलिङ गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभयो ।
सांसद् गैरेले वातावरणलाई प्रदूषित गर्ने ढंगले अर्बौंको सवारी साधनहरूलाई बेवारिसे अवस्थामा सरकारले राख्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयाे - 'जुनसुकै सरकारी कार्यालयमा जाँदा कार्यालयका अगाडि दर्जनौँ गाडीहरू बेवारिसे अवस्थामा असरल्ल अवस्थामा देखिन्छन्, त्यसले वातावरण प्रदूषण र सुन्दरतामा र अर्बौंको सम्पत्ति क्षति भइरहेको छ, यो देशको अर्बौंको सम्पत्तिको क्षति कहिलेसम्म हेरेर बस्ने हो ? म सभामुख महोदयमार्फत स्पष्ट रुलिङ सरकारलाई होस भन्ने चाहन्छु, देशभरि बिग्रेर बसेका यातायातका साधनहरू तत्काल मूल्यांकन गरी, त्यसको बिक्री वितरण गरी त्यसबाट आउने रकमको सदुपयोग हुनेगरी एउटा विशेष कार्यक्रमको घोषणा गर्ने हिसाबले सरकारको प्रस्तुतिका लागि रुलिङ होस् म माग गर्न चाहन्छु ।'
