काठमाडाैं । माओवादी केन्द्रका सांसद् देवेन्द्र पौडेलले शिक्षककाे अनावश्यक रुपमा डीनए परीक्षण गर्दै हिँड्नु राम्राे नभएकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथिकाे छलफलमा बाेल्दै सांसद् पाैडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई शिक्षकको राजनीतिक आवद्धता नखोज्न सुझाव दिनुभयाे ।
पूर्व शिक्षामन्त्री समेत रहनुभएका सांसद् पाैडेलले बुटवलकाे कालिका मावि, चितवनकाे नारायणी मावि, माेरङकाे सुकुना मावि, काठमाडाैंकाे ज्ञानाेदय लगायत विद्यालयले राम्राे काम गरिरहेका भन्दै ती विद्यालयलाई माथि पुर्याउनेहरुकाे पृष्ठभूमि हेर्न आग्रह गर्नुभयाे ।
शिक्षकले विद्यालय समयमा कस्तो शिक्षण गरेको छ भनेर सामुदायिक र निजी गरेर ३७ हजार विद्यालयकाे अनुगमन र नियमन गर्ने काम मन्त्रालयकाे भएकाे उहाँले बताउनुभयाे ।
शिक्षामन्त्रीले गर्न खाेजेका कतिपय काम राम्रा रहेका सांसद् पाैडेलले बताउनुभयाे । 'शिक्षकको अनावश्यक रुपमा डीएनए परीक्षण गर्दै हिँड्ने कुरा राम्राे छैन, याे ट्रेड युनियन अधिकार विपरीत हुन्छ, विद्यालय समयमा शिक्षकले पठपाठन गर्ने समयमा ध्यान दिने, भाैतिक पूर्वाधार, शिक्षण सिकाइ र कानुनी सुधारमा ध्यान दिएर अगाडि बढ्नुपर्छ'- उहाँले भन्नुभयाे ।
शिक्षक महासंघ र कतिपय शिक्षकसँग सरकारले सम्झाैता गरेकाे भन्दै सांसद् पाैडेलले शिक्षकलाई सशक्तिकरण गर्ने, खुशी बनाउने, दरबन्दीकाे व्यवस्था गर्ने, तालिम दिने र सक्षम बनाउने काम मन्त्रालयकाे भएकाे बताउनुभयाे ।
शिक्षकलाई गाली नभएर सम्मान गर्नुपर्ने उहाँले बताउनुभयाे । 'शिक्षकहरु हाम्रा गुरु हुन्, गुरुलाई सम्मान गर्ने प्रचलन थियाे, आजभाेलि कहिलेकाहीँ सुनिन्छ शिक्षकलाई गाली गरेपछि, अपमान गरेपछि, याे गरिस् उ गरिस् भनेपछि, याे वा त्याे रुपमा उपेक्षित गरेपछि विद्यालय सुध्रिन्छ कि भन्ने, ड्राइभरलाई गाली चलाइरहेका बेला गाली गर्याे भने राम्राेसँग चलाउन सक्छ'- सांसद् पाैडेलले बताउनुभयाे ।
बजेटमा समावेश गरिएकाे पढ्दै कमाउँदै कार्यक्रम राम्राे भएकाे भन्दै उहाँले यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयाे । शिक्षालाई सीपसँग र सीपलाई राेजगारसँग जाेडेर अघि बढ्नुपर्ने सांसद् पाैडेलले बताउनुभयाे ।
उच्च शिक्षा एेन चाँडाे ल्याउन पनि उहाँले सरकारलाई आग्रह गर्नुभयाे । शिक्षालाई श्रम र कृषिसँग जाेड्नुपर्ने पनि सांसद् पाैडेलले बताउनुभयाे । प्राविधिक शिक्षालाई आधुनिकीकरण गर्ने कुरालाई पनि जाेड दिन उहाँले शिक्षा मन्त्रालयलाई सुझाव दिनुभयाे ।
