काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले नेपालको जस्तो परिवेश, संस्कृति र समाज विश्वमा नै नभएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बाल्दै भण्डारीले विश्वको कुनै मानव समाजमा यति विशिष्टीकरण नभएको बताउनुभयो । ‘हाम्रो संस्कृतिले हाम्रो मलिनतामा, हाम्रो आँसुमा पनि मुस्कान दिन सक्छ, यो हाम्रो सबैभन्दा ठुला पहिचान हो, जसलाई हामीले चिन्न सकेका छैनौँ’, उहाँले भन्नुभयो ।
नेपाली समाजको गरिमा र विशिष्टता नेपालको पाठ्यक्रमले समेट्नै नसकेको उहाँले बताउनुभयो । त्यसैले नेपाली युवाको विदेश तिर आकर्षण बढेको उहाँको धारणा छ । ‘मेरो देशको विशिष्टता के हो भन्ने कुरा ल्याउन सक्दैनौँ, त्यस कारणले हामी विदेश पलायन हुन रुचाउँछौँ हामीले मुलुकको विकास, मुलुकको समृद्धिमा पहिला आफ्नो स्वार्थ हेर्दछौँ, त्यस कारण हामी पछि परेका छौँ, जसले जति भने पनि यस्तो हावापानी भएको देश, यति विशिष्टता भएको देश कहिल्यै पनि पछि पर्न सक्दैन, यहाँ हामी शिक्षामा चुकेका छौँ’, उहाँले भन्नुभयो ।
कम्तीमा माध्यमिक शिक्षा पार गर्दा विद्यार्थीले कुनै न कुनै विशिष्टता सिकेको हुनु पर्ने उहाँले बताउनुभयो । तर नेपालको पाठ्यक्रममा ती कुरा नभएको भण्डारीले टिप्पणी गर्नुभयो । विद्यार्थीले आफ्नो घर, समाज र संस्कृति माथि गौरव गर्ने पाठ्यक्रम नै बन्न नसेकेको उहाँले पष्ट पार्नुभयो ।
पहिला भन्दा सार्वजनिक विद्यालय धेरै राम्रा भएका भए पनि सरोकारवालाको व्यवहार र कार्यशैली परिवर्तन नहुँदा मानिसहरू गाउँमा बस्न नसकेको उहाँले पष्ट पार्नुभयो । पहाडमा आङ्गिक क्याम्पस र राम्रा विद्यालय दिन नसक्दा पनि बसाइसराइ बढेको उहाँले बताउनुभयो ।
उहाँले विदेशीसँग ऋण लिने र आत्मसमर्पण गर्ने देश नेपाल नभएको बताउनुभयो । तर राज्य सञ्चालन गर्नेले थिति बिगार्दा देश बरबाद भएको उहाँले बताउनुभयो । त्यसैले नेपाल युवा बेच्ने देश बनेको उहाँको धारणा छ । ‘संसारमा युवा बेच्ने कुनै देश हुन्छ ?’ उहाँले भन्नुभयो ।
देशलाई माफियाको बोलवालाको देश बनेको बताउनुभयो । शिक्षा बिना कुनै पनि मुलुक नबन्ने बताउँदै उहाँले नेपालमा माफियाले डाक्टर, इञ्जिनियर पढाउन समेत रोक लगाएका भन्दै उहाँले आलोचना गर्नुभयो ।
