काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् डा. तोसिमा कार्कीले नेपाल अस्पताल सञ्चालन ऐन तत्काल ल्याउनुपर्ने बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् कार्कीले स्वास्थ्य संस्था तथा अस्पताल सञ्चालन सम्बन्धी मापदण्ड कार्यान्वयन नभएकाले विपन्न नागरिक मारमा परेका बताउनुभयाे ।
सरकारी अस्पताल, निजी अस्पताल, सामुदायिक अस्पताल, प्रतिष्ठानका अस्पताल, मेडिकल कलेजका अस्पताल कसरी सञ्चालन गर्ने ? सेवा सुविधा के हुने ? सेवा नदिएमा दण्ड के हुने भन्ने स्पष्टतताका लागि नेपाल अस्पताल सञ्चालन ऐन ल्याउन जरुरी रहेकाे बताउनुभयाे ।
स्वास्थ्य संस्था तथा अस्पताल सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ काे दफा ७० काे घ मा स्वास्थ्य संस्था तथा अस्पतालले अनिवार्य रुपमा विपन्न नागरिकका लागि १० प्रतिशत शय्या छुट्याइ निःशुल्क सेवा दिनुपर्ने उल्लेख भएपनि लागू नभइरहेकाे उहाँले बताउनुभयाे । यसकाे नियमन पाटाे झन् फितलाे भएकाे सांसद् कार्कीले बताउनुभयाे ।
१० प्रतिशत निशुल्क सेवा नदिँदा के कारबाही के हुने भन्ने स्पष्ट व्यवस्था नभएकाे उहाँले बताउनुभयाे । कूल शय्याकाे १० प्रतिशत हाे कि बिरामी संख्याकाे १० प्रतिशत सेवा भन्ने पनि स्पष्ट नभएकाे सांसद् कार्कीले बताउनुभयाे ।
अस्पतालहरुले शय्या शुल्क मात्र नि:शुल्क गरेर अन्य सेवामा चर्काे शुल्क उठाइरहेकाे पाइएकाे समेत उहाँले बताउनुभयाे ।
