काठमाडाैं । देवप्रकाश तिमिल्सिनाले शिक्षकहरुकाे सेवा सुविधा वृद्धि गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटको मन्त्रालयगत छलफलमाथि भाग लिँदै सांसद् तिमिल्सिनाले शिक्षकहरुलाई धेरै दु:ख हुने भएपनि सरकारले तलब नबढाएकाे बताउनुभयाे ।
निजामती कर्मचारीहरुका लागि छुट्टै अस्पताल रहेकाे तर शिक्षकहरुका लागि सहुलियतपूर्ण अस्पताल नभएकाे भन्दै उहाँले अस्पतालकाे व्यवस्था गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । शिक्षककाे पीडा बुझेर छुट्टै अस्पताल नबनुञ्जेल निजामती वा अन्य अस्पतालमा सहुलियतपूर्ण उपचारकाे व्यवस्था गर्न सांसद् तिमिल्सिनाले माग गर्नुभयाे । 'सबै निजामती कर्मचारीहरुकाे अस्पताल छ, हामी बिरामी हुँदा कहाँ जाने ? शिक्षकहरुकाे गुनासाे छ, कहिले ८, कहिले ६, कहिले ५ घण्टा उभिएर पढाउनुपर्छ, उहाँहरु बिरामी हुँदा शिक्षककाे एउटा अस्पताल भइदिएपनि त उहाँहरुलाई राहत हुन्थ्याे, त्याे नहुञ्जेल निजामती अस्पताल वा कहाँ हुन्छ सिफ्ट गरेर उहाँहरुलाई व्यवस्थित गर्नुपर्छ, सबैकाे मनाेबल उच्च राख्नुपर्छ, शिक्षकहरुलाई धेरै दु:ख हुन्छ, त्यसकारण शिक्षककाे पीडा बुझेर सहुलियतपूर्ण उपचार गर्न पाउनुपर्याे' - उहाँले भन्नुभयाे ।
कुल बजेटकाे १५ प्रतिशत शिक्षामा बजेट विनियाेजन गर्नुपर्नेमा शिक्षामा बजेट नपुगेकाे सांसद् तिमिल्सिनाले बताउनुभयाे । विद्यार्थी संख्याकाे आधारमा शिक्षककाे दरबन्दी हुनुपर्ने भन्दै उहाँले यसाे भएमा गुणस्तरीय शिक्षा दिन सकिने बताउनुभयाे । सांसद् तिमिल्सिनाले चाँडाे भन्दा चाँडाे दरबन्दी मिलान गर्न शिक्षा मन्त्री सुमना श्रेष्ठकाे ध्यानाकर्षण गराउनुभयाे ।
मन्त्रीले आफ्नाे क्षेत्रमा बजेट केन्द्रित गर्दा शिक्षामा विकास हुन्छ भन्दै सांसद् तिमिल्सिनाले प्रश्न गर्नुभयाे । मुस्लिम समुदाय भएका जिल्लामा मदरसाहरुलाई बजेट विनियाेजन गर्नुपर्नेमा सरकारकाे ध्यान नगएकाे उहाँले बताउनुभयाे ।
अपांग, मुसहर र विपन्न समुदायका बालबालिकालाई विद्यालयकाे पहुँचमा ल्याउने व्यवस्था गर्न पनि सांसद् तिमिल्सिनाले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
पछाडि परेकाे वर्गका लागि केन्द्रित गरेर बजेट ल्याउनुपर्ने पनि उहाँले बताउनुभयाे ।
