काठमाडौं । दैलेख र अछाम जिल्ला नेपालमै पर्छ, यो कुरा सबैलाई थाहा छ ।
तैपनि सीताकुमारी रानाले दैलेख र अछाम नेपालमै पर्छ भनेर प्रतिनिधि सभालाई जानकारी गराउँछु भन्दै बोल्नुभएको छ । प्रतिनिधि सभाको आजको आकस्मिक समयमा कांग्रेस सांसद्ले बोल्नुभएको कुरा सामान्य थियो, केही दिन अघि दैलेख र अछाम जोड्ने कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिए खाद्यान्न बोकेका केही खच्चर मारिएका थिए भने केही पुलमै अड्किएका थिए । ती खच्चरको उद्दार गरिएको थियो । सोही विषयमा प्रतिनिधि सभामा कुरा उठाउँदा सीताकुमारीले अस्वाभाविक र अतिरञ्जित कुरा गर्नुभएको हो ।
दैलेख र अछाम नेपालमै पर्छ भन्ने अभिव्यक्ति आफ्नो कुरामा अरुको ध्यान केन्द्रीत गर्ने सीताकुमारीको उद्देश्य हो भन्ने प्रष्ट छ तर प्रतिनिधि सभामा यस्ता खालका अतिरञ्जित कुरा गरिनु स्वाभाविक होइन । सनसनी बोल्ने, अतिरञ्जित कुरा गर्ने, अस्वाभाविक तरिकाले आफ्ना कुरामा अरुको ध्यानाकर्षण गर्न खोज्ने कथित रोग सामाजिक सञ्जाल हुँदै प्रतिनिधि सभामा पनि पसेको छ । यही क्रममा सीताकुमारीले पनि अस्वाभाविक र अतिरञ्जित कुरा गर्नुभएको हो ।
