काठमाडौं । कोइलाले चल्ने इन्जिन कस्तो हुन्छ ? अहिलेको पुस्ताले देख्न दुर्लभ छ । यस्तो इन्जिन संग्रहालयमा मात्र देख्न पाइन्छ । कोइलाबाट चल्ने रेलको इन्जिन नेपाल रेलवेसँग छ ।
यो जानकारी दिनुभएको हो रास्वपाका सांसद् मनिष झाले प्रतिनिधि सभाको वैठकमा । मनिषका अनुसार व्रिटिश सरकारले सन् १९३५ मा नेपाललाई इन्जिन दिएको हो । त्यो इन्जिन अहिले वेवारिसे अवस्थामा छ ।
मनिषले शुन्य समयमा बोल्दै जनकपुर रेलवेको वैदेही र खजुरीमा कारखाना स्थापना गरिएको इतिहास उल्लेख गर्दै कोइलाले चल्ने इन्जिन त्यही कारखानामा भग्नावशेषका रुपमा रहेको बताउनुभयो । तर, सो इन्जिन वैदेहीको कारखानामा कि खजुरीको कारखानामा छ भन्ने चाहिँ खुलाउनुभएन ।
सो इन्जिन जसले दिएको हो उसैले सन् १९९४ मा सो इन्जिन संग्रहालयमा राख्न मागेको तर नेपालले नदिएको मनिषको भनाई थियो । मनिषको भनाई छ, हामीले पनि संग्रहालयमा राखेनौं, संग्रहालयमा राख्छौं भनेर माग्नेलाई पनि दिएनौं ।
‘यति भनिसकेपछि मनिषले ९५ वर्षको इतिहासलाई संरक्षण’ वाक्य बोल्नुभयो । सो वाक्य पूरा नहुँदै शुन्य समयमा बोल्ने एक मिनेटको समय सकियो र माइक काटियो ।
