काठमाडौं । कांग्रेसका सांसद् रामनाथ अघिकारीले मन्त्रीहरुको घर ठेगाना पत्ता लगाउँदै हिँड्नुभएछ ।
ठेगाना पत्ता लगाउनुको कारण हो – मन्त्रीजीले आफ्नो ठाउँका लागि कति बजेट छुट्याए भनेर । प्रतिनिधि सभाको शुन्य समयमा बोल्न सुरु गर्नासाथ रामनाथले सोध्नुभयो – ‘नेपाल सरकारका मन्त्रीज्यूहरु सिंगो नेपालका कि एउटा वडा, एउटा पालिकाको ? जानकारी पाउनुपर्यो ।’ रामनाथले भन्नुभयो– ‘मन्त्रीहरुको घर ठेगाना पत्ता लगाइयो । हेर्दै जाँदा आफ्नो वडा र आफ्नो पालिकाभन्दा माथि उठ्न नसकेको ।
त्योभन्दा माथि उठ्दा जिल्ला तहसम्म पुगेको देखियो ।’ मन्त्रीहरुले आफ्नो वडा र पालिकामै बजेट सीमित गरेको रामनाथको दावी थियो । रामनाथ मात्र नभएर राप्रपाकी रोशन कार्कीले पनि यस्तै खाले प्रश्न उठाउनुभयो । उहाँले पनि शुन्य समयमा मन्त्रीहरुले आफ्नै जिल्लामा बजेट केन्द्रीत गरेको बताउनुभयो । उहाँले एउटा उखानबाट बोल्न सुरु गर्नुभयो । त्यो उखान थियो –‘आफ्नो हात जगन्नाथ ।’
उखान भनिसकेर उहाँले भन्नुभयो – ‘बजेट जति मन्त्रीले आफ्नो जिल्लामा लैजाने, हामीले के गर्ने ?’ रोशनले दोहोराएर सोध्नुभयो –‘हामीले के गर्ने ?’ त्यसपछि रोशनले भन्नुभयो –‘मन्त्रीहरुको बजेट कटौती गर्नुपर्यो । मन्त्रीहरुको बजेट फिर्ता गर्नुपर्यो । मन्त्रीहरुलाई बजेट शुन्यमा राख्नुपर्यो ।’
