काठमाडौं । प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले विपद् व्यवस्थापनको पूर्वतयारीमा लाग्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै भट्टराईले विपद् व्यवस्थापनको जुन पुर्वतयारी हुनुपर्ने हो, त्यस अनुसारको योजना बन्न नसकेको बताउनुभयो । ‘हामीले कुनै सकारात्मक भूमिका खेल्न सकेका छैनौँ’, उहाँले भन्नुभयो ।
जलवायु परिवर्तनको कारण पूर्वअनुमान नै गर्न नसक्ने गरी मौसम परिवर्तन भएको भट्टराईले बताउनुभयो । यसको असर आममानव समुदायले भोगिरहेको उहाँले सुनाउनुभयो ।
विपत् प्राधिकरणलाई दिएको १८ करोड रुपैँया मध्ये १५ करोड रुपैँया तलब भत्तामा नै खर्च हुने अवस्था रहेको उहाँले बताउनुभयो । ‘जम्मा ३ करोड रुपैँयाले विपत् प्राधिकरणले के गर्न सक्छ ?’, उहाँले प्रश्न गर्नुभयो ।
जनशक्ति र उपकरणको अभावमा समयमा नै गर्न सकिने उद्धार समेत गर्न नसकिएको उहाँले बताउनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले साधन, स्रोतको अभावमा समेत जीवन जोखिममा राखेर उद्धारको काम गरिरहेका भन्दै उहाँले प्रशंसा गर्नुभयो ।
उहाँले गएको वर्ष भएको क्षतिको समेत क्षतिपूर्ति दिन नसकेको बताउनुभयो । त्यसको व्यवस्थापन गर्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
