काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले भूमि सुधार एेन परिमार्जन गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक शाहीले भूमि सुधार एेनमा व्यापक परिमार्जन गर्नुपर्ने बताउनुभयाे ।
उहाँले राष्ट्रिय भूमि नीतिमा पनि परिमार्जन आवश्यक रहेकाे बताउनुभयाे । खानी भएका ठाउँमा वस्ती नबसाल्नेगरी एेन बनाउन प्रमुख सचेतक शाहीले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
खेतीयाेग्य जमिनमा बस्ती बसाउन नपाइने एेन बनाउन पनि उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । 'भारतबाट मार्बल बेच्ने मानिस यहाँ व्यापारी हुन्छ, तर यही देशकाे ढुंगा बेच्ने मानिस गुण्डा हुन्छ, याे प्रवृत्तिकाे विकास गरिएकाे छ, आज व्यवसायीहरु धराशाही अवस्थामा परेका छन्, त्यसकारण याे नीति भएन, यस्ताे नीतिले न हाम्राे देश बन्छ, एउटा कठाेर तर अप्रिय निर्णय गर्नुस् मन्त्रीज्यू खानी भएका ठाउँमा वस्ती नबसाल्नुस्, बस्ती भएका ठाउँमा कसैले बस्ती बसाउन पाउँदैन, खेतीयाेग्य जमिन छ त्याे जमिनमा कसैले पनि बस्ती बसाउन पाउँदैन भनेर एेन बनाउनुस्'- शाहीले भन्नुभयाे ।
देशकाे उत्पादनलाई प्राथमिकता दिन र अन्य देशबाट फलफूल लगायत सामान आयात राेक्न उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । कृषियाेग्य जमिन मासिँदै गएकाेमा चिन्ता व्यक्त गर्दै प्रमुख सचेतक शाहीले भूमि सुधार एेन परिमार्जन नगरे देश कंक्रिटकाे शहर बन्ने र नेपालीहरु परनिर्भर हुने बताउनुभयाे ।
सहकारीमा टाेले गुण्डाहरुकाे रजगज चलिरहेकाे उहाँले बताउनुभयाे । सहकारीहरुलाई नियमन गर्ने नीति नल्याइएकाे भन्दै प्रमुख सचेतक शाहीले असन्तुष्टि जनाउनुभयाे ।
