काठमाडौं । प्रतिनिधि सभा सदस्य रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद्लाई जानकारी नगराई भारत भ्रमणमा जानुभएको भन्दै आपत्ति जनाउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै पार्टी संसदीय दलका प्रमुख सचेतक समेत रहनुभएका लेखकले प्रधानमन्त्रीले संसद्लाई नै बिर्सिएर भारत भ्रमण गर्नुभएको बताउनुभयो । प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएको पाँच दिन बित्दा समेत भ्रमणको बारेमा जानकारी नगएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । ‘पाँच दिनसम्म पनि सम्माननीय प्रधानमन्त्रीजी यहाँ आउन सक्नु भएन, उहाँलाई मैले सम्झाउनु पर्ने भयो’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री विदेश भ्रमणमा गएको कुरा पत्रिका पढेर थाहा पाउनु पर्ने स्थिति आएको उहाँले बताउनुभयो । प्रमुख प्रतिपक्षी दलले यो कुरा प्रधानमन्त्रीलाई सम्झाउनु दुर्भाग्यको कुरा भएको उहाँको भनाइ छ ।
देशको राष्ट्रपति पनि अहिले देश बाहिर जानु भएको बताउँदै उहाँको भ्रमणको बारेमा पनि सांसदहरूले अखबार पढेर थाहा पाउनु परेको लेखकले बताउनुभयो । संसदीय प्रणालीमा यो दुर्भाग्यपूर्ण कुरा भएको उहाँले टिप्पणी गर्नुभयो ।
संसदीय सर्वोच्चताको सरकारबाट उपहास गर्ने काम भएको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘सरकारबाट संसद्को न्यूनतम गरिमा कायम गर्ने काम पनि भएन’, उहाँले भन्नुभयो ।
गृह मन्त्री रवि लामिछानेले संसदमा लगाएको लाञ्छनाको जवाफ कांग्रेसले प्रधानमन्त्रीसँग मागेको बताउँदै लेखकले त्यही जवाफ दिनुपर्छ भनेर प्रधानमन्त्री संसदमा नआई भागेर बसेको आरोप लगाउनुभयो । उहाँले यसमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
संसद्लाई अपमान गर्ने स्थिति बनेको भन्दै सदनको गरिमा कायम गर्न उहाँले सभामुखसँग माग गर्नुभयो । सदनको मान, मर्यादा र गरिमा जोगाउने कुरा प्रतिपक्षले गर्ने स्थिति आउनु उचित नभएको उहाँले स्पष्ट पार्नुभयो ।
आगामी दिनको प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै प्रधानमन्त्रीले भारत भ्रमणको बारेमा संसद्लाई जानकारी दिनुपर्ने लेखकले माग गर्नुभयो ।
