काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.चन्द्रकान्त भण्डारीले युवा, विद्यार्थी देश बस्न छाडेका भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै भण्डारीले अगाडिको बेञ्चमा बस्ने र खाइलाग्दा राम्रा युवा देशमा नबस्ने अवस्था आएको बताउनुभयो । पछाडिको बेञ्चमा बस्ने विद्यार्थी पनि स्कुल मर्ज गर्दा विद्यालयमा पहुँच नपुगेको भण्डारीले सुनाउनुभयो । त्यसको लागि विद्यालय बसको व्यवस्था गर्न उहाँले माग गर्नुभयो ।
नेपालमा बस्ने किड्नी, क्यान्सर, फोक्सो लगायतका गम्भीर रोगका बिरामीले अति दुःख पाएकाले उनीहरूको उचित व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कुनै अस्पतालको व्यवस्था गरी उनीहरूको उचित उपचारको व्यवस्था गर्नुपर्ने उहाँले माग गर्नुभयो ।
संसद्लाई असहाय र अवसरबाट विमुख भएका व्यक्तिको छलफलको थलो बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘जसलाई सरकारले जवान देओस्’, उहाँले भन्नुभयो ।
