काठमाडाैं । नेकपा एमालेकी सांसद् बिजुला रायमाझीले देशमा छाेरीहरु सुरक्षित हुने वातावरण बनाउन सरकारकाे गम्भीर ध्यानाकर्षण गराउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् रायमाझीले छाेरीहरु समाजका हरेक क्षेत्रमा असुरक्षित रहेकाे बताउनुभयाे ।
छाेरीहरु कहिँकतै सुरक्षित नरहेकाे भन्दै उहाँले देशमा छोरीहरू कसरी सुरक्षित हुन सक्छन् भनेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरिलाई प्रश्न गर्नुभयाे । 'नेपालमा अवाला दृष्टिबिहिन, बोल्न नसक्ने, असहाय, विपन्न छोरीहरू कसरी सुरक्षित हुन सक्छन् ? छोरी यो समाजका सृष्टिकर्ता त हुन् नै तर कसैका बहिनी, श्रीमती, भाउजू, बुहारी, आमा, सासू, माइजू र साथी पनि हुन् भन्ने भावना कहिलेदेखि विकास हुन्छ नेपालमा ? छोरी गर्भमा, काखमा, घर, समाज, विद्यालय, कार्यस्थल, गाडी, बाटो, पँधेरो, वनजंगलमा कहीँ सुरक्षित देखिएन, यो देशमा छोरीको बारेमा आवाज उठाउने अभियन्ता पनि राज्यबाट असुरक्षित भएभने हामी के गरौँला, यसमा ध्यानाकर्षण गर्न चाहान्छु ?'- सांसद् रायमाझीकाे प्रश्न छ ।
महिला हिंसा गर्नेहरूले सत्ता र शक्तिको दुरुपयोग गर्दै अदालतबाट उन्मुक्ती पाउने गरेका भन्दै उहाँले पीडित छाेरीहरु जीवनभर आँसुमा डुब्नुपर्ने अवस्था कहिलेसम्म भन्ने प्रश्न पनि गर्नुभयाे ।
पीडक उम्किने प्रवृत्तिले ९५ प्रतिशत छाेरीहरु अन्यायमा रहेका भन्दै सांसद् रायमाझीले फाइदा लिने वर्ग फस्टाउँदै जानु सभ्य समाजकाे संकेत नभएकाे बताउनुभयाे । यस विषयमा सरकारलाई रुलिङ गर्न समेत उहाँले सभामुखकाे ध्यानाकर्षण गराउनुभयाे ।
अर्घाखाँचीकाे सन्धिखर्क-७ का ३१ वर्षीय बाबुराम घर्तीकाे सेवामूलक काम गर्दागर्दै पाल्पामा करेन्ट लागेर ज्यान भएकाे भन्दै सांसद् रायमाझीले उहाँका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गर्नुभयाे ।
अर्घाखाँची छत्रदेवकाे नेटामा टिपर दुर्घटनामा परी चालक रामलाल पुरीकाे ज्यान गएकाे, सनपा-७ का रिसभ केसी घाइते र गाडी धनी नविन घिमिरे उपचारमा रहेकाे भन्दै उहाँले दु:ख व्यक्त गर्नुभयाे ।
