काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् असिम शाहले टिकटकमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउन सरकारसँग माग गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बोल्दै सांसद् शाहले व्यवस्थित र नियन्त्रित रुपमा टिकटक खुलाउन सरकारसँग माग गर्नुभयाे ।
सरकारले टिकटकमा प्रतिबन्ध लगाएपनि त्यसकाे विकल्पमा इन्टा, रिल लगायत सामाजिक सञ्जालका अन्य प्लेटफर्महरू चलिरहेकाे भन्दै उहाँले यस्ताेमा सरकारले अपराध र विकृति फैलिएको भन्दै टिकटकमा लगाएको प्रतिबन्धकाे औचित्य के भयाे भन्ने प्रश्न गर्नुभयाे ।
टिकटक बन्द भएपछि कति विकृति राेकिए भन्ने तथ्यांक वा प्रतिवेदन कतै नदेखिएकाे भन्दै सांसद् शाहले सरकारले बन्द गरेपनि ५० लाख प्रयोगकर्ताहरूले भीपिएन प्रयोग गरी टिकटक चलाइरहेका बताउनुभयाे ।
टिकटक बन्द भएपछि ब्याण्डविथ घटेर डाटा बिक्रीबाट हुने आम्दानी घटेकाे तथ्यांक प्रस्तुत गर्दै उहाँले भन्नुभयाे - 'टिकटक बन्द भएपछि विकृतिको तथ्यांक वा प्रतिवेदन त छैन होला, तर टिकटक बन्द भएपछि ब्याण्डविथ घटेर डाटा बिक्रीबाट हुने आम्दानी घटेर एनसेलको १ अर्ब ४४ करोड र एनटीसीको डेढ अर्ब रूपैयाँ घाटा भएको देखाएको छ ।'
टिकटकबाट सानो व्यापारीले गरेको घरेलु व्यवसाय र स्वतन्त्र व्यवसायीहरू बेरोजगार र विस्थापित भएको कुरा हिसाबकिताब गरी साध्य नभएको सांसद् शाहले बताउनुभयाे ।
सूचीकृत नभएका अन्य सामाजिक सञ्जाल बिनाराेकटाेक चलिरहेकाे अवस्थामा टिकटकमा मात्रै विकृति फैलियाे भन्ने कुरा स्वीकार्य नहुने उहाँले बताउनुभयाे । 'अरू पनि सूचीकृत नभएका फेसबुक इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरू बिनारोकटोक चलिरहेका छन्, तर टिकटकमा मात्रै विकृती र अपराध फैलिने कुरा स्वीकार्य छैन, त्यसैले अभिव्यक्ति स्वतन्त्रताको समर्थन गर्दै व्यवस्थित र नियन्त्रित रूपमा टिकटक खोल्न सरकारसँग आग्रह गर्छु' - सांसद् शाहले भन्नुभयाे ।
सरकारले ०८० कात्तिक २७ गतेदेखि टिकटकमा प्रतिबन्ध लगाएकाे छ ।
