काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले निर्माणाधीन संसद् भवनमा मदिरा पिउने बार बनाउनुपर्ने बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिकाे छलफलमा भाग लिँदै सांसद् बजगाईंले नयाँ संसद् भवनमा विदेशी पाहुनाहरू आउँदा सोसलाइजेन गर्न बार निर्माण गर्नुपर्ने बताउनुभयाे । पर्यटकीय हिसाबले पनि याे राम्राे कुरा भएकाे उहाँले दाबी गर्नुभयाे ।
आफूले अमेरिकी संसद् र लण्डन स्कुल अफ इकोनमिक्सको क्यान्टिनमा भ्रमण गर्दा बार देखेकाे भन्दै सांसद् बजगाईंले नेपालकाे नयाँ संसद् भवनमा पनि त्यस्ताे बार बनाउन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । 'म सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको अफिस गएको थिएँ, कंग्रेस र सिनेटको अफिस घुम्ने माैका पाएको थिएँ, सिनेटमा आतिथ्यता गर्न जाने पाहुना वा पर्यटकहरूका लागि बार बनाइदिँदोरहेछ, डेमाेक्रेक्टहरु र रिपब्लिकनहरुले आ-आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन्, त्यहाँ ड्रिंक्स गर्न पाइन्छ, अधिकांश माननीय मदिरा पिउनु हुन्न, लण्डन स्कुल अफ इकोनमिक्सको क्यान्टिनमा पनि बार रहेछ, त्यसको लिमिटेशन हुन्छ, अहिले बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुनाहरू आउँदाखेरि सोसलाइजेन गर्ने बार निर्माण गर्ने हो कि ? मैले यसमा ध्यानाकृष्ट गराउन चाहेँ, याे पर्यटकीय हिसाबले पनि महत्वपूर्ण छ'- उहाँले भन्नुभयाे ।
सांसद् बजगाईंले बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमाथि खर्च कटौती प्रस्ताव पेस गर्नुभएकाे थियाे ।
