काठमाडाैं । नेकपा एमालेका सांसद् सुहाङ नेम्वाङले सरकारले ल्याएकाे बजेटमा इलाम नभेटिएकाे बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा विनियाेजन विधेयकमाथिकाे छलफलमा भाग लिँदै सांसद् नेम्वाङले पर्यटनकाे अनन्त सम्भावना बाेकेकाे इलाम बजेटमा नभेटिनु दु:खद भएकाे बताउनुभयाे ।
उपचुनावका क्रममा इलामेली जनताकाे आवश्यकताकाे सूची बुझाए पनि बजेटमा नसमेटिएको भन्दै उहाँले बजेट पुस्तिका हेरेपछि विश्वास र मान्यता खण्डित भएकाे नेम्वाङले बताउनुभयाे । 'इलामेली जनताको आवश्यकताको सूची सकेसम्म बुझाएँ, तर जब बजेटका यी पुस्तिकाहरु हात लाग्याे, त्यो मेरो विश्वास र मान्यता खण्डित भयो, हाम्रो सिद्धान्त र प्राथमिकता एकातिर, हाम्रो आवश्यकता र माग एकातिर र हामी अर्का तिर रहेछौँ भन्ने लाग्यो, विकासप्रतिको हाम्रो बुझाई र अवधारणा प्रष्ट छैन रहेछ भन्ने लाग्यो'- उहाँले भन्नुभयाे ।
इलाम-२ मा संस्कृतितर्फ एउटा मन्दिर निर्माणका लागि बजेट परेकाे तर पर्यटनतर्फ शून्य रहेकाे सांसद् नेम्वाङले बताउनुभयाे । 'पर्यटन विकासकाे सम्भावना र अवधारणलाई गहिराेगरी आत्मसाथ गरेकाे भए सबैभन्दा बढी भेटिनुपर्ने त इलाम हाे'- उहाँले भन्नुभयाे ।
हाम्रो अहिलेसम्मको सबैभन्दा ठूलाे समस्या देशलाई नचिन्नु र सम्भावनालाई नबुझ्नु रहेकाे सांसद् नेम्वाङले बताउनुभयाे । 'जहाँ जतिसुकै मानव निर्मित चिज बनाएपनि त्यहाँ पर्यटक नजाँदा पनि हामीले त्यतै बजेट खन्याएकाछाैं, जहाँ केही नबनाएपनि पर्यटक त्यहाँ पर्यटक आइरहेका छन्, त्यस्ता ठाउँलाई बेवास्ता गरिरहेका छाैं, यो समस्या अहिले पनि देखा पर्याे'- उहाँले भन्नुभयाे ।
पर्यटनका लागि प्राकृतिक रुपमा इलाममा के कमी छ भन्ने प्रश्न अर्थमन्त्रीलाई गर्दै सांसद् नेम्वाङले पर्यटनको अनन्तः सम्भावना रहेको बताउनुभयाे । पर्यटनमा सिजनको कुरा हुने भएपनि इलाम हरेक सिजन पर्यटकलाई स्वागत गर्न तयार उहाँले बताउनुभयाे । अर्थमन्त्री वर्षमान पुनलाई इलाम घुम्न अनुराेध गर्दै सांसद् नेम्वाङले इलाम घुमेपछि अर्थमन्त्री पुनलाई बजेटले इलाममाथि अन्याय गरेकाे रहेछ याे त देशमाथिकै अन्याय हाे भन्ने महशुस हुने समेत बताउनुभयाे ।
इलाम मात्र नभएर साेलुखुम्बु जस्ता पर्यटकीय सम्भावनाका क्षेत्रमा बजेट केन्द्रित हुन नसकेकाे उहाँले बताउनुभयाे । बजेटमा विश्वकाे सर्वाेच्च सगरमाथा पनि नदेखिएकाे सांसद् नेम्वाङले बताउनुभयाे ।
देशकाे समृद्धिका लागि जहाँ जे सम्भावना छ त्यसैकाे प्रवर्द्धन, विकास र प्रचार गर्नुपर्ने उहाँले बताउनुभयाे । विकसित देशले जस्ताे मानव निर्मित संरचना निर्माण गर्ने अवस्थामा नेपाल नरहेकाे भन्दै सांसद् नेम्वाङले प्रकृतिले दिएकाे सम्पदाकाे अधिकतम सदुपयाेग गर्नुपर्ने बताउनुभयाे ।
१६ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेपनि बजेटमा पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल र गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनकाे कार्ययाेजना पनि बजेटमा नरहेकाे उहाँले बताउनुभयाे ।
आफूले पर्यटन मन्त्रालयलाई एउटा उदाहरणकाे रुपमा पेस गरेकाे भन्दै सांसद् नेम्वाङले समस्या सबै मन्त्रालयमा रहेको बताउनुभयाे । सबैभन्दा बढी समस्या विकासप्रतिकाे बुझाइमा समस्या रहेकाे उहाँले बताउनुभयाे ।
आवश्यकता र प्राथमिकतालाई बुझ्न उहाँले आग्रह गर्नुभयाे । गाेलचक्करबाट बाहिर निस्किएर मुलुकलाई समृद्धिकाे दिशामा अघि बढाउन उहाँले सबैमा आग्रह गर्नुभयाे ।
