काठमाडाैं । बाराको रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाका हत्यारालाई कारबाही गर्न माग गरेका छन् ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद्हरुले कुशवाहाकाे हत्या गर्ने अपराधीलाई कानुनकाे दायरामा ल्याएर कारबाही गर्न माग गरेका हुन् ।
बैठकमा बाेल्दै नेकपा एमालेका सांसद् अच्युतप्रसाद मैनालीले जेठ ३२ गते घरतर्फ जाँदै गर्दा क्याम्पस प्रमुख कुशवाहाकाे निर्ममतापूर्वक हत्या भएकाेमा दु:ख व्यक्त गर्नुभयाे । बारामा एक वर्षकाे अवधिमा हत्या भएकाे याे चाैथाे घटना भएकाे भन्दै उहाँले हत्याकाे श्रृंखला बढ्दै गएपछि सीमावर्ती क्षेत्रका बासिन्दा तर्सित र असुरक्षित भएका बताउनुभयाे । 'गत असाेजमा कलैया सदरमुकाम चाेकमा एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक गुड्डु भनिने रुपेश शराफमाथि गाेली प्रहार गरी हत्या भयाे, भदाैमा पचलाघराैता नगरपालिकामा भारतका नागरिकलाई नेपालमा ल्याएर हत्या गरियाे, अघिल्लाे असाेजमा पनि त्यसैगरी हत्या भयाे, याे हत्याकाे श्रृखंला बढ्दै गइरहेकाे छ, दुर्भाग्यकाे कुरा सुटर भारतबाट आउने, खुला सीमा हातहतियारकाे ओसारपसारले गर्दा खासगरी सीमाक्षेत्रका बासिन्दा तर्सित र असुरक्षित भएका छन्, घटनाकाे गहिराे अनुसन्धान नहुने, अपराधीहरु कानुनी दायरामा नआउने क्रम बढेकाे छ ।'
मधेशमा एक दशकअघि राजनीतिक आवरणमा भएकाे हत्या र हिंसाकाे श्रृंखलालाई बिर्सिएर अघि बढेकाे बेला फेरि हत्याका घटना बढेकाे भन्दै उहाँले यसलाई तत्काल नियन्त्रण गर्न माग गर्नुभयाे । अपराधीलाई कानुनी दायरामा ल्याउनका लागि र सीमापारी प्रशासनसँग समन्वय गरेर प्रशासनले सक्रियता अपनाउनुपर्ने बताउनुभयाे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अशाेककुमारी चाैधरीले दिनडाहडै गाेली हानी हत्या हुनु दु:खद र दुर्भाग्य भएकाे भन्दै हत्यारालाई कानुनी कठघारामा ल्याउन गृहमन्त्रीकाे ध्यानाकर्षण गराउनुभयाे । शिक्षक पेशामा लागेका शिक्षकहरुकाे दिनडाहाडै हत्या हुनु एकदम दु:खद भएकाे उहाँले बताउनुभयाे । मधेश प्रदेशमा हालै ४ जनाकाे गाेली हानी हत्या भएकाे भन्दै सांसद् चाैधरीले यस्ता जघन्य अपराध विरुद्ध प्रहरी प्रशासनले तत्कालै एक्सन लिनुपर्ने र हत्यारालाई कानुनी कठघारामा ल्याउनुपर्ने बताउनुभयाे । दूध किसानकाे दूधकाे पैसा दिन पनि उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
