काठमाडाैं । स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएकाे बजेट माओवादी पार्टीको ३२ जना सांसद्का लागि मात्र बनेको बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा विनियाेजन विधेयककाे मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद् सिंहले सरकारले ल्याएकाे बजेट २ सय ७५ जना सांसद्काे हो भन्नु एउटा दिवासपना मात्र भएकाे टिप्पणी गर्नुभयाे ।
सरकारले ल्याएकाे बजेट केही सीमित व्यापारीले तयार पारेका आराेप उहाँले लगाउनुभयाे । अर्थमन्त्रीकाे चाकरी गर्नेहरुले मात्रै बजेट पाएका सांसद् सिंहले आराेप लगाउनुभयाे । 'याे बजेट केही व्यापारीले बनाए, अर्थमन्त्रीले हाेइन, याे बजेट माओवादी पार्टीको ३२ जना सांसद्का लागि मात्र बनेकाे बजेट हाे, २ सय ७५ जना सांसद्काे हो भन्नु एउटा दिवासपना मात्र हाे'- उहाँले भन्नुभयाे ।
माओवादी पार्टी समाप्तिको अन्तिम चरणमा रहेकाे भन्दै सांसद् सिंहले माओवादीले आफ्नो सांसद् कहाँ कहाँ जित्न सक्छ त्यहाँ मात्र बजेट खन्याएकाे बताउनुभयाे । 'माओवादी पार्टी समाप्त हुने अन्तिम संघारमा छ, आफ्नाे सांसद्ले कहाँ कहाँ जित्न सक्छ, त्यहाँ मात्र बजेट खन्याइएको छ, हामी जस्तो निर्दाे सांसद्लाई उहाँहरूले देख्नुहुन्न, किनभने म अर्थमन्त्रीको चाकडी गरेको छैन, उहाँकाे काेठा कहाँ हाे गएकाे छैन'- उहाँले भन्नुभयाे ।
नेपालमा प्रधानमन्त्री र मन्त्रीलाई नियम कानुन नलाग्ने गरेकाे भन्दै सांसद् सिंहले मन्त्री र प्रधानमन्त्रीले बजेट आफ्नो क्षेत्रमा जति लगेपनि जे गरे पनि छुट भएको बताउनुभयाे । 'हाम्राे देशमा नियम कानुन मन्त्रीलाई लाग्दैन, संविधान लेख्दा एउटा कुरा लेख्न बिर्सिएछकि मन्त्री र प्रधानमन्त्री संविधान भन्दा माथि हुन्छ, उहाँहरुलाई कुनै कानुन नियमले छुँदैन, उहाँले जति बजेट बनाइदिएपनि, आफ्नो क्षेत्रमा लगेपनि, जे गरे पनि, जति घूस खाए पनि छुट छ'- उहाँले भन्नुभयाे ।
उर्जामा आत्मनिर्भर छाैं भनेर सरकारले गफ लगाइरहेकाे तर अहिले पनि आफ्नाे निर्वाचन क्षेत्रमा १२ घण्टा लाेडसेडिङ भइरहेकाे भन्दै सांसद् सिंहले आपत्ति जनाउनुभयाे ।
