काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद् विश्वप्रकाश शर्माले बूढीगण्डकी बहुद्देश्यीय जलविद्युत् आयोजनाकाे काम अगाडि बढाउनुपर्ने बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद् शर्माले बूढीगण्डकी बहुद्देश्यीय जलविद्युत् आयोजना जस्ता बहुप्रतिक्षीय राष्ट्रिय आयोजनाहरु बजेट अभाव र सञ्चालनको अन्योलमा राेक्न नहुने बताउनुभयाे ।
बूढीगण्डकीका लागि गभरमेन्ट (सरकार), डायस्पोरा (विदेशमा बस्ने नेपाली) र प्राइभेट सेक्टर (निजी क्षेत्र) को पार्टनरसीप (सहकार्य) अर्थात (जीडीपीपी मोडल) उपयुक्त हुने उहाँले बताउनुभयाे । संसारका मजदूर एक हाैं भनेझैं नेपालकाे समुन्नतिका लागि सबै नेपाली एक हाैं भन्ने भाव जरुरी रहेकाे बताउनुभयाे ।
नेपाल बन्नसक्छ र यो उज्यालो दिशातर्फ अगाडि बढ्दै छ भन्ने सन्देश दिन पनि सरकारले १२ सय मेघावाट क्षमताको सो आयोजनाको निर्माण कार्यमा ढिलाई गर्न नहुने उहाँकाे सुझाव छ ।
साे आयाेजना नेपालीकै लगानीमा बनाउनुपर्ने उहाँले बताउनुभयाे । नेपालीले पठाएकाे रेमिट्यान्स बूढीगण्डकी जस्ता आयाेजना र हाइड्राेमा लगानी गर्न सकिने बताउनुभयाे । बहुप्रतिक्षीय बूढीगण्डकीका लागि कुनै पनि तयार अघि नबढ्नु उचित नहुने भन्दै उहाँले भरपर्दो बैंकिङ प्रणाली स्थापना गरेर विदेशमा रहेका गैरआवासीय नेपालीलाई १ हजार डलरदेखि २५ हजारसम्म लगानी गर्न प्रस्ताव गर्नुपर्ने बताउनुभयाे ।
