काठमाडौं । प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले नेपालमा असंगठित रूपमा काम गर्ने मजदुरहरू जोखिममा रहेका बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै शर्माले जोखिमपूर्ण काम गर्दा त्यस्ता मजदुरहरूको बारम्बार ज्यान जाने गरेको बताउनुभयो । ती मजदुरहरू सामाजिक सुरक्षा र बिमा कार्यक्रममा नजोडिँदा उनीहरूले ज्यान गुमाउँदा पनि परिवारले राहत र क्षतिपूर्तिको रकम नपाउने अवस्था रहेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘आयको सुरक्षा, उसको जीवनको सुरक्षा, सामाजिक सुरक्षा अलपत्र छ’, उहाँले भन्नुभयो ।
थोकमा मृत्यु हेर्दा खुद्रा मृत्यु राष्ट्रिय चासोको विषय नबनेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । राज्यको लागि खुद्रा मृत्यु भए पनि ज्यान जानेको सत प्रतिशत गुम्ने उहाँले बताउनुभयो ।
शर्माले असंगठित मजदुरको सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । कुनै मजदुरले इनार सफा गर्दा मर्नुपर्ने स्थिति आउनु नहुने र यदि दुर्घटना भइहाले पनि मृतकको परिवारले उचित राहत पाउने व्यवस्था मिलाउन उहाँले आग्रह गर्नुभयो ।
