काठमाडौं । संघीय संसद् सचिवालयका कर्मचारी ओभर टाइम काम गरेको भत्ता माग गर्दै अनसन बसेको विषयले प्रतिनिधि सभामा प्रवेश पाएको छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य रघुजी पन्तले संघीय संसद्का कर्मचारी न्यायपूर्ण माग राखेर अनसनमा बस्दा पनि माग सम्बोधन नभएको कुराले सकारात्मक सन्देश नगएको बताउनुभयो । बैठकमा आकस्मिक समय लिएर बोल्दै पन्तले अन्य मन्त्रालयका कर्मचारीले सरह संसद् सचिवालयका कर्मचारीले पनि सुविधा पाउनु पर्ने बताउनुभयो ।
कोभिडदेखि यता त्यहाँका कर्मचारीले ओभर टाइम काम गरेको भत्ता नपाएको बताउँदै पन्तले अन्य मन्त्रायका कर्मचारीले अफिस टाइम भन्दा बढी काम गर्दा पाउने सुविधा संसद् सचिवालयका कर्मचारीले पनि पाउनु पर्ने बताउनुभयो । संसद् सचिवालयका कर्मचारीलाई छुट्टै व्यवस्था गर्न नसकिए पनि अन्य मन्त्रालय अन्तर्गतका कर्मचारीले पाउँदै आएको सुविधा भने रोक्न नमिल्ने पन्तको धारणा छ ।
आज सभामुखलाई सघाउनु पर्ने कर्मचारीहरू संसद् भवन बाहिर धर्नामा बस्नु दुःखको कुरा भएको उहाँले बताउनुभयो । ‘संसदभित्र यो दृश्य उपस्थित हुनु आफैँमा दुखद कुरा हो कि होइन’, उहाँले भन्नुभयो ।
सांसदहरूलाई पढ्न राखिने अखबार समेत कटौती गरिएको भन्दै उहाँले सरकारको आलोचना गर्नुभयो । सांसद्ले सरकार दिने भएकोले संसद्लाई सरकारले सधैँ सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सांसदले अखबार रकम कटौती गर्ने हदसम्म नझर्न उहाँले सरकारलाई आग्रह गर्नुभयो ।
