काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंह सरकारले ल्याएको आउने आर्थिक वर्षको बजेट असमान रूपमा वितरण गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सिंहले सरकारले ल्याएको यो बजेट स्विकार्न नसकिने बताउनुभयो । बजेट प्रधानमन्त्री, अर्थमन्त्री, एमाले अध्यक्ष र भौतिक पूर्वाधार मन्त्रीको जिल्ला र निर्वाचन क्षेत्रमा केन्द्रित भएको सिंहले टिप्पणी गर्नुभयो ।
उहाँले यसै गरी बजेट विनियोजन गर्ने हो भने संसदमा बजेट ल्याउनुको कुनै अर्थ नभएको बताउनुभयो । एकतर्फी रूपमा बजेट आउने हो भने संसद्को औचित्य नभएको र संसद् छाडेर गए हुने उहाँको भनाइ छ । ‘अर्को वर्ष बजेट संसदमा प्रस्तुत नगरियोस्, पास नगरियोस्, त्यही क्याबिनेटले पास गरोस्, त्यही प्रधानमन्त्रीले गरोस्’, उहाँले भन्नुभयो ।
सिंहले संसद्ले प्रधानमन्त्री बनाएकोले प्रधानमन्त्रीले संसद्मा आएर यसको जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले यस विषयमा प्रधानमन्त्रीलाई रुलिङ गर्न सभामुखसँग माग गर्नुभयो । ‘सभामुखको रुलिङ भएन भने बजेट पास गर्ने अन्तिम दिन बजेटको बहिष्कार गर्छु, भोटिङको दिन बहिष्कार गर्छु’, उहाँले भन्नुभयो ।
आफूहरू हसिमजाक गर्न संसदमा नआएको बताउँदै जनताको समस्याको विषयमा गम्भीर हुन आग्रह गर्नुभयो । यस विषयमा गम्भीर नहुने हो भने जनता अन्यायमा पर्ने सिंहले बताउनुभयो ।
