काठमाडाैं । नेपाली कांग्रेसका सांसद् ह्यदयराम थानीले अहिले नेपालमा सर्वाधिक चर्चित व्यक्ति भनेकाे गितेन्द्रबाबु (जीबी) राई भएकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभामा विनियाेजन विधेयकमाथि मन्त्रालगत छलफलमा भाग लिँदै सांसद् सिंहले जीबी राई सहकारीका कारण चर्चामा रहेकाे बताउनुभयाे । 'आज याे मुलुकमा काेही चर्चाकाे विषय छ भने जीबी राई चर्चाकाे विषय हुनुहुन्छ, उहाँ सहकारीबाट चर्चित हुनुभयाे, गाेरखा मिडियाबाट चर्चित भएर आउनुभएकाे छ'- उहाँले भन्नुभयाे ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई समात्छु भन्दै अभिव्यक्ति दिएपनि अहिलेसम्म पक्रन नसकेकाे उहाँले बताउनुभयाे । '०८० चैत १० गते जीबी राई आकाशमा हाेस् कि पाताल समातेर ल्याउँछु भन्नुभयाे गृहमन्त्रीज्यू याे कुरा याद छ कि छैन, कहाँ गए त आज जीबी राई ? ०८१ वैशाख २९ गते भरतपुर विमानस्थलमा तपाइँले भन्नुभयाे - जीबी राईलाई अघिल्लाे सरकारले भगाएकाे हाे'- सांसद् थानीले भन्नुभयाे ।
त्यसबेलाका प्रधानमन्त्री प्रचण्ड अहिले पनि त्यही पदमा र त्यतिबेलाका गृहमन्त्री नारायणकाजी श्रेष्ठ सत्ता गठबन्धनमा नै रहेकाे उहाँले स्मरण गराउनुभयाे । ५० दिनपछि गृहमन्त्रीले भाषा फेरेकाे भन्दै उहाँले प्रश्न गर्नुभयाे - 'यही तरिकाले मुलुक चल्छ ? यही तरिकाले गृह मन्त्रालय चल्छ ?'
३ वटा फाइल खाेल्याे भने संसद्का सबै नेता जेल जाने कुरा गृहमन्त्रीले बताउनुभएकाे भन्दै सांसद् थानीले ती ३ वटा फाइल कुन कुन हुन् भन्ने प्रष्ट पार्न ध्यानाकर्षण गराउनुभयाे ।
सिंहकाे निद्राबाट ब्युझिँएर फाइल खाेल्न उहाँले गृहमन्त्री लामिछानेकाे ध्यानाकर्षण समेत गराउनुभयाे । 'गिरिबन्धु टी-स्टेटकाे छानबिन गर्न तपाइँकाे सिंहकाे मुटु छ ? क्याटाेनमेन्टकाे ओम्नी र यतिकाे छानबिन गर्न सक्नुहुन्छ ?'- सांसद् थानीले प्रश्न गर्नुभयाे ।
आफ्नाे क्षेत्रमा बजेट धेरै खन्याउँदा अनुहार उज्यालाे हुँदाे रहेछ अध्याराे भन्ने प्रश्न समेत उहाँले गर्नुभयाे । मन्त्रीहरुले आफ्नाे क्षेत्रमा बजेट केन्द्रित गर्दा समस्या भएकाे सांसद् थानीले बताउनुभयाे । गृहमन्त्री लामिछानेमा काम गर्ने हुटहुटी भएकाे तर गृह मन्त्रालयमा आएर काम गर्याे कि गरेन भनेर समीक्षा गर्न गृहमन्त्रीकाे ध्यानाकर्षण गराउनुभयाे ।
अति भ्रष्टाचार मुलुकमा बाँच्नु परेकाे भन्दै उहाँले सरकारकाे नेतृत्व गरिरहेकाहरु यसमा गम्भीर हुन नसकेकाे बताउनुभयाे । कूटनीतिक मामिलामा सरकार कमजाेर भएकाे सांसद् थानीले बताउनुभयाे । प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा कालापानी हाम्राे हाे र त्याे जमिन हामीलाई फिर्ता चाहिन्छ भनेर बाेल्न नसकेकाे समेत उहाँले बताउनुभयाे ।
