काठमाडौं । प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्हरु अराजक र उत्ताउलो रूपमा प्रस्तुत हुन लागेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा राप्रपाका अध्यक्ष समेत रहनुभएका सांसद् राजेन्द्र लिङ्देन र सांसद् ज्ञानबहादुर शाहीको प्रस्तुति निक्कै उत्ताउलो र अराजक देखियो । बैठकमा लिङ्देनले रोष्टममा पुगेर बजेट पुस्तिका च्यात्नुभयो भने शाहीले सभामुखलाई नै धम्क्याउने र थर्काउने गतिविधि गर्नुभयो ।
कर्णालीमा कम बजेट विनियोजन गरिएको भन्दै आकस्मिक समय मागेर बोल्नु भएका शाही विषयवस्तु बाहिर गएपछि सभामुखले रोक्न खोज्दा यो कर्णाली हो भन्दै सभामुख माथि नै आइलाग्न खोज्नु भएको थियो । उहाँ अराजक रूपमा प्रस्तुत भएपछि सभामुखले बस्नको लागि रुलिङ गर्नुभएको थियो ।
मंगलबार नै बजेट माथिको छलफलमा बोल्न रोष्टममा पुग्नु भएका लिङ्देनले आफू निक्कै कम रिसाउने मानिस भएको बताउँदै भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको बजेट पुस्तिका हात परेपछि टाउको तातिएर आएको भन्दै पुस्तक च्यात्नु भएको थियो । ‘जब यो भौतिक पूर्वाधार यातायात मन्त्रालयको बजेट पुस्तिका हातमा पर्यो त्यो दिनदेखि म तातिएको छु, यो यसरी च्यातेर, यसरी हुर्याउने मन छ’, भन्दै उहाँले रोष्टमबाटै बजेट पुस्तिका च्यात्नु भएको थियो ।
उहाँले यो आफ्नो मात्रै मनको कुरा नभएर हलभित्र बसेका जुनसुकै पार्टीका भए पनि चार निर्वाचन क्षेत्र बाहेक सबै प्रतिनिधि सभा सदस्यको मनको कुरा भएको बताउनुभयो । सामान्य लाज घिन समेत नराखेर राज्यको श्रोत माथि मनपरी गरेको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘सामान्य लाज पनि नराख्ने, यो देख्छन्, पढिने चिज पनि हो भन्ने सोच पनि नराख्ने ?’, उहाँले प्रश्न गर्नुभयो ।
सरकारको गतिविधिले यो राज्य व्यवस्था काम लाग्दैन भन्ने कुरा पुष्टि गरेको उहाँले बताउनुभयो । यो व्यवस्थाका पक्षधर भनिएकाहरू नै व्यवस्था भत्काउन लागेका उहाँले दाबी गर्नुभयो ।
