ककाठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद् राेशन कार्कीले वर्तमान सरकार असफल भइसकेकाे आराेप लगाउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा विनियाेजन विधेयकमाथिकाे मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद् कार्कीले सरकार पूर्ण रुपमा असफल भएकाे भन्दै राजीनामा गर्न आग्रह गर्नुभयाे ।
बजेटमा सत्तापक्षकाे पनि विराेध देखिएकाे भन्दै उहाँले बजेट मन्त्रीहरुकाे क्षेत्रमा मात्र केन्द्रित भएकाे आराेप लगाउनुभयाे । 'के याे सरकार असफल भइसकेकाे हाे नैतिकताकाे दृष्टिकाेणले याे सरकारले राजीनामा दिनु पर्ने कि नपर्ने ? काेही मानिस सन्तुष्ट छैनन्, ह्विप लगाएर बजेट पास गर्नुहाेला, तर मर्यादा पालककाे घेराबाट आएर विश्वासकाे मत लिएकाे सरकार पूर्णत फेल भइसक्याे, राजीनामा गर्नुस्'- सांसद् कार्कीले भन्नुभयाे ।
भारतका प्रधानमन्त्री नरेशन्द्र माेदीकाे शपथ ग्रहण कार्यक्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुँदाकाे दृश्य कूटनीतिक आचारसंहिताभित्र पर्छ कि पर्दैन ? भन्ने प्रश्न उहाँले गर्नुभयाे । 'भारतका प्रधानमन्त्रीसँग नेपालका प्रधानमन्त्रीले भेट्दा जस्ताे खालकाे सिनारियाे देखियाे, त्याे देखेर नेपालीहरुकाे शीर निहुरिएकाे छ'- सांसद् कार्कीले भन्नुभयाे ।
गृहमन्त्री हुँदा राम्राे काम गरेकाे भन्दै उहाँले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठकाे प्रशंसा गर्दै उहाँले रुस र युक्रेन युद्धमा फसेका युवालाई छुटाउन आग्रह गर्नुभयाे । रुसी सेनामा रहेका नेपालीकाे लगत संकलन गरेर ज्यान गुमाउनेहरुकाे परिवारलाई क्षतिपूर्तिकाे व्यवस्था गर्न पनि सांसद् कार्कीले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिले राष्ट्रिय परिचयपत्र लिँदा अत्यन्त दु:ख पाइरहेकाे भन्दै उहाँले गृहमन्त्रीकाे ध्यानाकर्षण गराउनुभयाे । विपद् न्यूनीकरणका लागि बजेट र कार्यक्रमबारे सदनलाई जानकारी गराउन पनि सांसद् कार्कीले गृहमन्त्रीकाे ध्यानाकर्षण गराउनुभयाे ।
विपद् अघि नै नेपालीकाे ज्यान जाेगाउन किन नसकिने भन्दै उहाँले प्रश्न गर्नुभयाे । विपद् अघि नै क्षति नहुनेगरी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सांसद् कार्कीले आग्रह गर्नुभयाे ।
