काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सरकारले ल्याएको बजेटले कानुनी मापदण्ड उलंघन गर्ने प्रतिस्पर्धा गरिरहेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बजेट माथिको छलफलमा बोल्दै पौडेलले सरकारले केही नेताहरूको निर्वाचन क्षेत्र केन्द्रित बजेट ल्याएको भन्दै आलोचना गर्नुभयो । विनियोजित बजेटले आर्थिक अनुशासन पालना नगरेको उहाँले बताउनुभयो । ‘मन्त्री र सरकारको कारणले हाम्रो व्यवस्था र संघीयता माथि सबैभन्दा बढी टीकाटिप्पणी भइरहेको छ’, पौडेलले भन्नुभयो ।
कथनिमा संघीयता प्रति एकदमै प्रतिबद्ध देखिने तर करणीमा भने संघीयता विरोधी क्रियाकलाप भइरहेको उहाँले बताउनुभयो । मन्त्री र सरकारकै कारण व्यवस्था माथि नै प्रश्न उठेको उहाँले बताउनुभयो । ‘करेक्सन गर्न कोही तयार छैन, खालि बोलिमात्नै राखिएको छ’, उहाँले भन्नुभयो ।
विनियोजन शीर्षकका सबै बजेटमा चालु खर्च बढेको भन्दै उहाँले आलोचना गर्नुभयो । नेपालको पूर्वाधार विकास आर्थिक विकाससँग कतै नजोडिएको उहाँले टिप्पणी गर्नुभयो । अर्थ मन्त्रालयले कतै सरोकार नै नराखी विधिविहीन रूपमा बजेट बनाउने गरेको पौडेलले बताउनुभयो ।
योजनामा लागत अनुसार बजेट विनियोजन नगरिको बताउँदै पौडेलले त्यसले निर्माणको काममा कुनै प्रगति नहुने बताउनुभयो । छुट्याइएको बजेटले केवल खोस्रिने काम मात्र हुने उहाँको धारणा छ ।
