काठमाडाैं । नेपाली कांग्रेसकी सांसद् चन्दा चाैधरीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले रोष्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेर राम्राे गरेकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा विनियाेजन विधेयकमाथि मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद् चाैधरीले लिङ्देनले भाैतिक मन्त्रालयकाे बजेट पुस्तिका च्यात्नु भनेकाे सबै सांसद्ले च्यातेजस्तै भएकाे दाबी गर्नुभयाे । 'राजेन्द्रजीले याे पुस्तक च्यात्नुभयाे, याे के राम्राे हाे ? राम्राे हाेइन नि तर उहाँकाे पीडा छ च्यात्नुभयाे, म सपाेर्ट गर्छु, समर्थन गर्छु, किनभने याे च्यात्नुपर्छ, तर एक जनाले च्यातेपछि सबैले च्याते जस्तै भयाे'- उहाँले भन्नुभयाे ।
आफ्नाे र आफू निकटका सांसद्काे निर्वाचन क्षेत्रका लागि थुप्राे लगाएर अरु ठाउँमा रित्तै राख्ने मनशाय भाैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठमा देखिएकाे उहाँले बताउनुभयाे । एउटा क्षेत्रलाई मात्र मन्त्रीले बजेट राख्ने हाे भने संघीय ससद् नभएर स्थानीय तहकाे मेयर-उपमेयर भए हुने सांसद् चाैधरीले बताउनुभयाे ।
मन्त्रीहरु आफ्नाे निर्वाचन क्षेत्रकाे लागि मात्रै मन्त्री बन्नुभएकाे हाे भन्ने प्रश्न गर्दै उहाँले प्रश्न गर्नुभयाे -'यसले राष्ट्रकाे विकास हुन्छ ?' बजेट प्रधानमन्त्री र मन्त्रीकाे निर्वाचन क्षेत्रका लागि बजेट छुट्याइएकाे तर बजेट आवश्यक भएकाे ठाउँमा बजेट नै विनियाेजन नभएकाे भन्दै आपत्ति जनाउनुभयाे ।
मधेश प्रदेशमा ८ वटा जिल्ला भएकाे र जनकपुर पिछडिएकाे जिल्ला नभएकाे समेत सांसद् चाैधरीले बताउनुभयाे । बजेटमा विभेद नगर्न उहाँले आग्रह गर्नुभयाे ।
कांग्रेस नेतामाथि लगाइएकाे आराेपबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने र राष्ट्रपति रामचन्द्र पाैडेलकाे विदेश भ्रमणबारे सदनलाई जानकारी गराउनुपर्ने समेत सांसद् चाैधरीले बताउनुभयाे ।
