काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) की सांसद् रञ्जुकुमारी झाले मन्त्रीले खल्तीमा राजीनामा बाेकेर हिँडेकाे छु भनेर अभिव्यक्ति दिँदा दु:ख लागेकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा विनियाेजन विधेयकमाथि मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद् झाले सरकारमा बसेकाे मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँड्नु राम्रो नभएको बताउनुभयाे । मन्त्री भएर राम्रो काम गर्न नसके राजीनामा दिनुपर्ने उहाँले बताउनुभयाे । 'कुनै मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँडेको सुनेर मलाई दुःख लाग्यो, त्यो राम्रो कुरा होइन, यदि हामी मन्त्रिपरिषद्मा छौं भने राजीनामा लिएर नहिँडौँ, मन्त्री भएर बसौँ, राम्रो काम गरौँ, काम राम्रो गर्नुछैन भने राजीनामा दिएर निस्कौँ, खल्तीमा पत्र लिएर नहिँडौँ, कोही मन्त्री होस्, कुनै पार्टीको मन्त्री होस्'- सांसद् झाले भन्नुभयाे ।
केही दिनअघि रास्वपाका सांसद् समेत रहनुभएका युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकारकाे कामप्रति अससन्तुष्टि जनाउँदै राजीनामा खल्तीमै रहेकाे बताउनुभएकाे छ ।
कारागार व्यवस्थापनमा मधेश प्रदेशका जिल्लालाई किन नराखिएकाे भन्दै उहाँले गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्नुभयाे । मधेश प्रदेशकाे कारागार सबैभन्दा दयनिय अवस्थामा रहेकाे भन्दै उहाँले आफ्नाे निर्वाचन क्षेत्रकाे कारागारमा जाँदा परैबाट नाक थुनेर जानुपर्ने अवस्था रहेकाे बताउनुभयाे ।
मधेशमा लागू औषधकाे बिगबिगी रहेकाे भन्दै सांसद् झाले सप्तरीमा चुनावका बेला कार्यकर्तालाई लागूऔषध खुवाएर भाेट बटुल्ने काम भएकाे आफूले देखेकाे बताउनुभयाे । स्थानीय तहसँग सहकार्य गरेर लागूऔषध नियन्त्रण गर्नुपर्ने उहाँले बताउनुभयाे ।
गुप्तचर अर्थात अनुसन्धान विभागलाई व्यवस्थित रुपले अगाडि बढाउन सांसद् झाले आग्रह गर्नुभयाे । गृहमन्त्रीले एनजिओको खाजा नखाएकाे र सय दिनकाे समीक्षामा आफूले राम्रो काम नगरेकाे र केही नराम्रो कामपनि नगरेकाे बताउनुभएकाे भन्दै प्रशंसा गर्नुभयाे । विपद् व्यवस्थापनका लागि चनाखाे हुन गृहमन्त्रीकाे ध्यानाकर्षण गराउनुभयाे ।
राजदूतको पदलाई राजनीतिक भागबण्डा बनाउन नहुने उहाँले बताउनुभयाे । संविधान संशाेधन गरेर भएपनि उपराष्ट्रपतिलाई राष्ट्रिय सभा अध्यक्षकाे जिम्मेवारीमा ल्याउनुपर्ने सांसद् झाले बताउनुभयाे । निर्वाचन प्रणालीमा विचार गर्नुपर्ने अवस्था रहेकाे उहाँले बताउनुभयाे । विगतकाे तुलनामा भाैतिक मन्त्रालयमा आफूले भनेका केही याेजना परेकाेमा उहाँले खुशी व्यक्ति गर्नुभयाे ।
मन्त्री भनेकाे निर्वाचन क्षेत्रकाे मात्र नभएर देशकै मन्त्री भएकाे भन्दै सांसद् झाले आफूलाई मन्त्री बन्ने अफर आउने गरेपनि विकासे मन्त्री बन्न डर लाग्ने बताउनुभयाे ।
