काठमाडाैं । संघीय संसद् सचिवालयले संस्थागत जानकारी एवं अनुमतिबिना गैरसरकारी संस्थाको सहयोग नलिन संसदीय समितिहरुलाई निर्देशन दिएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको निर्देशनमा सचिवालयले मंगलबार समितिका सचिव र सबै समितिलाई पत्र लेख्दै त्यस्ताे निर्देशन दिएकाे हाे ।
संसदीय समितिमा गैरसरकारी संस्थाकाे प्रवेशले कानुन निर्माण पक्रियामा प्रभाव पर्ने ठहरसहित समय-समयमा ध्यानाकर्षण गराइएकाे भएपनि सहयाेग लिएकाे गुनासाे आएपछि सभामुख र राष्ट्रिय सभा अध्यक्षबाट पुन: ध्यानाकर्षण गराउन निर्देशन भएकाे संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले काट्नुभएकाे पत्रमा उल्लेख छ । 'संघीय संसदको संस्थागत जानकारी एवं अनुमति बिना कतिपय गैरसरकारी संस्था (एनजीओ-आइएनजीओ) हरुले संघीय संसद् अन्तर्गतका समितिहरु तथा सचिवालयलाई सहयोग गर्ने, माननीय सदस्यहरुको सम्लग्नतामा कार्यक्रम गर्ने र यसबाट कानून निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पार्ने गरेको भन्ने गुनासाहरु सुनिने गरिएको सन्दर्भमा समय समयमा सतर्क गराउँदै आएको भए तापनि यस्ता गुनासाहरु पुनः आइरहेको हुँदा यस सम्बन्धमा पुनः ध्यानाकर्षण गराउने भन्ने प्रतिनिधि सभाका सम्माननीय सभामुख र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षबाट निर्देशन भएअनुसार जानकारी गराइएको छ'- पत्रमा लेखिएकाे छ ।
आइतबार प्रतिनिधि सभाकाे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेसनल फोरम अफ पार्लियमेन्टेरियन अन पपुलेससन एण्ड डेभलपमेन्ट (एनएफपीपीडी) का कर्मचारी खाजासहित उपस्थित भएपछि बैठक स्थगित भएको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले साे खाजा बहिष्कार गर्नुभएकाे थियाे ।
