काठमाडाैं । नेपाली कांग्रेसका सांसद् डा. प्रकाशशरण महतले ३ करोड भन्दा कम लागतका आयोजनामा संघीय सरकारबाट बजेट विनियोजन नगर्ने निर्णय कार्यान्वयन नभएकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा विनियाेजन विधेयकमाथि मन्त्रालयगत छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री समेत रहनुभएका सांसद् महतले आफू अर्थमन्त्री हुँदा गरिएकाे निर्णय कार्यान्वयनमा अहिलेकाे सरकारले चासाे नदिएकाे बताउनुभयाे । 'म अर्थमन्त्री हुँदा आउँदाे बजेटमा हामी एउटा विधिअनुसार जान्छाैं भनेर कार्यविधि मन्त्रिपरिषद्बाट पारित भयाे, ३ कराेड भन्दा तलकाे आयाेजना केन्द्र सरकारले नराख्ने, प्रदेशले १ कराेड भन्दा तलका आयाेजना नराख्ने निर्णय भयाे, हामी सरकारबाट बाहिरिएपछि पनि प्रधानमन्त्रीले ३ कराेड भन्दा साना आयाेजना प्रदेश र स्थानीय तहमा पठाउँछाैं भनेर साे कुरा निरन्तर दाेहाेर्याउनुभयाे, तर अहिले आउँदाखेरी ५५ अर्ब बढी बजेट १ कराेड भन्दा तलकाे आयाेजनाका लागि छ'- उहाँले भन्नुभयाे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ११ अर्ब ८७ करोड, सहरी विकासमा २९ अर्ब ६२ करोड, ऊर्जा जलस्रोत तथा सिँचाइमा ५ अर्ब १५ करोड, खानेपानी मन्त्रालयमा ५ अर्ब बराबरका आयोजना १ करोड कम लागतका आयाेजना रहेका सांसद् महतले बताउनुभयाे । यस्ताे बजेट कुठाउँमा पर्छ भन्ने स्पष्ट हुँदाहुँदै पनि सरकारले त्यस्ता आयाेजनामा बजेट छुट्याएकाे बताउनुभयाे पनि सांसद् महतले बताउनुभयाे ।
देशका विभिन्न सुरुङमार्गमध्ये बुटवलकाे सुरुङ मार्गलाई मात्र बजेट छुट्याइएर भेटभाव गरिएकाे आराेप उहाँले लगाउनुभयाे । टाेखा छहरे सुरुङ मार्गकाे नाम समेत उल्लेख नभएकाे सांसद् महतले बताउनुभयाे ।
बजेटमा राखिएका कुनै पनि आयाेजना कार्यान्वयन नहुने दाबी सांसद् महतले गर्नुभयाे । गृह, भाैतिक र अर्थमन्त्रालयमा अहिले जस्ता आयाेजना कहिल्यै पनि नराखिएकाे उहाँले बताउनुभयाे ।
सडक विस्तारका ४३ वटा आयोजनामध्ये ३ वटालाई मात्र १ करोड माथिको बजेट दिइएको सांसद् महतले बताउनुभयाे । ठेक्का लागिसकेकाे आयाेजनामा बजेट नछुट्याइएकाे भन्दै उहाँले पुराना बन्द गर्दै गएर नयाँ आयाेजना थालेर प्रगति नहुने बताउनुभयाे । 'बजेट प्रस्ताव नयाँ आयाेजनामा छ, नयाँ खाेल्दै जानुस्, पुराना बन्द गर्दै जानुस्, दायित्व सृजना हुँदै गर्छ के मतलब, हामी आएका छाैं हामी गर्छाैं भन्ने मानसिकताबाट देशकाे प्रगति हुँदैन'- सांसद् महतले भन्नुभयाे ।
सालाखाला विकास हाेइन छलाङ मार्ने किसिमले विकास गर्नुपर्छ भन्ने अभिव्यक्ति प्रधानमन्त्रीले दिनुभएकाे भन्दै उहाँले यसरी छलाङ मार्न सकिन्छ ? भन्ने प्रश्न गर्नुभयाे ।
मापदण्ड विपरित टुक्रे आयाेजनामा बजेट बाँडिएकाे भन्दै उहाँले यस्ताे खालकाे बजेटबाट आर्थिक वृद्धिकाे कल्पना गर्न नसकिने उहाँले बताउनुभयाे ।
