काठमाडाैं । नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट धनुषामा केन्द्रित गरिएको भन्दै कडा आपत्ति जनाउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा विनियाेजन विधेयमाथिकाे मन्त्रालयगत छलफलमा बाेल्दै सांसद् खतिवडाले भाैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफ्नो निर्वाचन क्षेत्र धनुषा-४ र पत्नी जुलीकुमारी महतोकाे क्षेत्र धनुषा-३ धेरै बजेट खन्याएकाे भन्दै आपत्ति जनाउनुभयाे ।
धनुषामा गएकाे ८ अर्ब बजेटले नपुगे बाँकी निर्वाचन क्षेत्रकाे बजेट पनि त्यतै लैजान भाैतिक मन्त्रीलाई उहाँले कटाक्ष गर्नुभयाे । खर्च कटाैती नभएर ५ रुपैयाँ थप्ने प्रस्ताव ल्याएकाे भन्दै सांसद् खतिवडाले विराेध स्वरुप राेष्ट्रममा ५ रुपैयाँ छाेड्नुभयाे । '१ सय ६५ निर्वाचन क्षेत्रमध्ये २ वटा तपाइँकाे परिवारले जित्नुभएकाे छ, अन्य ठाउँकाे रकम पनि उहाँकै क्षेत्रमा हालियाेस्, उहाँलाई पुग्दैन भने रु ५ कटाैती हाेइन थप्ने प्रस्ताव ल्याएकाे छु, त्याे पनि उहाँकै क्षेत्रमा हालियाेस्'- उहाँले भन्नुभयाे ।
मन्त्रीले आफ्नाे निर्वाचन क्षेत्रमा मात्र बजेट थुपार्ने प्रवृत्तिले देश बन्न नसक्ने पनि सांसद् खतिवडाले बताउनुभयाे ।
