काठमाडौं । प्रतिनिधि सभा सदस्य रघुजी पन्तले भारतसँगको सीमा व्यवस्थित नगर्दा नेपालमा आपराधिक घटना बढेको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै पन्तले खुल्ला सिमानाको कारण केही दिन यतादेखि तराइमा लगायता गोली हानेर मानिस मार्ने घटना भइरहेको बताउनुभयो । यसलाई रोक्न सीमा सुरक्षामा ध्यान दिनुपर्ने पन्तले बताउनुभयो ।
सुल्ला सीमा नियन्त्रणको लागि नेपाल भारत सिमानामा तत्काल काँडेतार लगाउनु पर्ने पन्तले बताउनुभयो । एकै पटक पासपोर्ट सिस्टममा जान नसकिए पनि नेपालीलाई राष्ट्रिय परिचयपत्र र नागरिकता तथा भारतीयलाई भारतीय आधार कार्डको आधारमा नियमन गर्नुपर्ने उहाँको सुझाव छ । ‘बिस्तारै त्यहाँबाट सुरु गरेर काँडेतार लगाउँदै सीमालाई व्यवस्थित गर्दै पासपोर्ट सिष्टममा हामी जानै पर्छ’, उहाँले भन्नुभयो ।
सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी बललाई साधन र श्रोत सम्पन्न बनाउनु पर्ने उहाँले बताउनुभयो । जहाँ जहाँ सशस्त्र प्रहरी बल बसेको छ, त्यहाँ सुरक्षा राम्रो भएको र नागरिकले सुरक्षित महसुस गरेका पन्तको धारणा छ ।
