काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले सरकारका र काठमाडौंका मेयर बालेन्द्र साहले तराई मूलका मानिसहरू माथि रङ्गभेदकारी नीति लिएका बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सिंहले काठमाडौंमा कवाडी व्यवसाय गर्दै आएको तराईमूलका नागरिक माथि अदालतको आदेशको समेत अवज्ञा गर्दै सरकार र काठमाडौं महानगरपालिकाले रङ्गभेद गरेर आक्रमण गरेको बताउनुभयो । शान्तिपूर्ण आन्दोलनमा रहेका कवाडी व्यवसायीलाई लाठी प्रहार गरी घाइते बनाइएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । ‘मधेसको मान्छे देख्नै नहुने काठमाडौंमा, यो कस्तो रणनीति हो सरकारको ?’ उहाँले प्रश्न गर्नुभयो ।
उहाँले काठमाडौंलाई रण मैदान नबनाउन सरकार र मेयर बालेन्द्रलाई आग्रह गर्नुभयो । काठमाडौंको मेयरले नै काम भएन भने फोहोर थुपार्न सिकाएको बताउँदै सिंहले अब कवाडी व्यवसायीले पनि काठमाडौं महानगरपालिका र बालेन्द्रको घर अगाडि फोहोर थुपार्नुपर्ने बताउनुभयो । ‘सबै फोहोर काठमाडौं महानगरपालिका र बालेन साहको घरको अगाडि थुपारौँ, त्यसको लागि हामी साथमा छौँ’, उहाँले भन्नुभयो ।
अदालतले समेत कवाडी नहटाउन आदेश दिएको बताउँदै कवाडी व्यवसायीलाई हटाउन काठमाडौं नगरपालिकाले गरेको जबरजस्तीको उहाँले निन्दा गर्नुभयो । पपुलिजमको नाममा दुनियाँमा तानासाही जन्मिएको बताउँदै सिंहले बालेन्द्र साह पनि सोही पथमा अघि बढेका बताउनुभयो ।
हिटलर तानासाह बन्दा जर्मनी नै समाप्त हुने अवस्थामा पुगेको बताउँदै सिंहले बालनेले पनि काठमाडौंलाई जर्मनी बनाउन खोजेको बताउनुभयो । ‘बालेनले पनि नेपाललाई जर्मनी बनाउन खोजेको हो ?’ उहाँले भन्नुभयो ।
उहाँले के कारणले मधेसका मानिसहरूको टाउको फुटाएको भन्दै त्यसको प्रधानमन्त्री र गृह मन्त्रीले जवाफ दिनुपर्ने बताउनुभयो । देशमा नै रोजगारी गर्न चाहनेको सरकारले टाउको फोरेको भन्दै उहाँले आलोचना गर्नुभयो ।
