काठमाडौं । प्रतिनिधि सभा सदस्य हरि ढकालले नेपालको युवा तथा खेलकुद मन्त्रालय युवाको लागि हुन नसकेको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक माथिको छलफलमा भाग लिँदै ढकालले सो मन्त्रालयले युवाको लागि काम गर्न नसकेको मन्त्रालयबाट युवा भन्ने शब्द नै हटाउन उहाँले माग गर्नुभयो । विदेशमा गएका युवालाई देश फर्किऊँ, फर्किऊँ भन्ने वातावरण नै बन्न नसकेको उहाँले प्रष्ट पार्नुभयो ।
युवा र खेलाडीलाई यो देशमा पैसा नहुने तर ठुला ठुला भ्यु टावर बनाउने पैसा भएको उहाँले बताउनुभयो । अहिले खरबौँका भ्यु टावर असरल्ल भएका बताउँदै उहाँले ती भ्यु टावर बनाउने पैसाले कयौँ खेल स्टेडियम बन्ने उहाँको धारणा छ ।
एमालले भ्यु टावर निर्माण गरेको खर्च गलत थियो भनेर आत्मालोचना गर्नुपर्ने बताउनुभयो । सदन सत्य बोल्ने ठाउँ भएकोले सबैले सत्य बोल्नु पर्ने उहाँले धारणा राख्नु भयो । ‘त्यो बेलामा गज्जबले पैसा थियो, भ्यु टावरमा खर्च गरियो, बनाएको भए हुन्थ्यो नि स्टेडियम’, उहाँले भन्नुभयो ।
खेल मन्त्रालयका कर्मचारीले मन्त्रीलाई पनि जाँते पिङ खेलाइदिए जस्तै गरी राम्रैसँग घुमाइ दिएका भन्दै उहाँले आलोचना गर्नुभयो । फेरी पनि कर्मचारीले घुमाएर कार्यालयकै खर्चको नाममा बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।
