काठमाडौं । प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले देशमा बसेर केही हुँदैन भन्ने मानसिकता बदल्न युवालाई आत्मनिर्भर बनाउन कार्यक्रम आउन आवश्यक रहेको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभामा विनियोजन विधेयक माथिको छलफलमा बोल्दै युवालाई शारीरिक र मानसिक रूपमा बलियो बनाउन खेल क्षेत्रका विकास पनि त्यतिकै आवश्यक रहेको बताउनुभयो । ‘युवा तथा खेलकुद मन्त्रालय बहुआयामिक महत्वको क्षेत्र भएर पनि प्राथमिकताको विषय बन्न सकेको छैन, यो आफैमा दुःख र चिन्ताको विषय हो’, गैरेले भन्नुभयो ।
देशको कूल बजेटको एक प्रतिशत बजेट पनि खेल क्षेत्रमा नछुट्टिनु दुःखको विषय भएको उहाँले बताउनुभयो । खेल क्षेत्रको लागि कम्तीमा दुई प्रतिशत बजेट विनियोजन गर्न उहाँले सबैलाई आह्वान गर्नुभयो ।
खेल क्षेत्रमा बजेट विनियोजन नगरी रिजल्ट खोज्नु बेकारको कुरा हुने उहाँले बताउनुभयो । गफ गरेर मात्र खेल क्षेत्रमा कुनै उपलब्धि नहुने उहाँले स्पष्ट पार्नुभयो ।
