काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सदनबाट नभागेको स्पष्ट पार्नुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकको प्रश्न–उत्तर कार्यक्रम बोल्दै प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण र राष्ट्रपतिको जर्मनी भ्रमणको विषयमा जानकारी गराउनबाट भाग्नु पर्ने कुनै कारण नभएको बताउनुभयो । उहाँले आफू यस पटक भारतका प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रममा सहभागी हुनको लागि मात्र भारत भ्रमणमा गएको जानकारी दिनुभयो ।
आफ्नो भारत भ्रमण कुनै एजेण्डामा आधारित भएर नभएको कारण भ्रमणको विषयमा कुनै छलफल नगरेको उहाँले जानकारी दिनुभयो । तथापि भ्रमणको बेला दुई पक्षीय हितको बारेमा कुराकानी भएको उहाँले बताउनुभयो ।
केही दिनअघि प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणबारे सदनलाई जानकारी नगराएको भन्दै कांग्रेसका सांसदहरूले प्रधानमन्त्री सदनबाट भागेको आरोप लगाउनु भएको थियो । विदेश भ्रमणको विषयमा तत्काल संसदमा आएर जानकारी दिन उहाँहरूले माग राख्नु भएको थियो ।
प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमण बारेमा सदनले बुझ्न खोज्नुलाई स्वाभाविक भए पनि उहाँहरूको अभिव्यक्ति आपत्तिजनक भएको दाहालले बताउनुभयो । ‘केही माननीयहरूले किन डराएको प्रधानमन्त्री सदन आउन भन्या जस्तो शब्द पनि प्रयोग गरेको मैले सुनेँ, कतिपयले यसलाई अन्य रूपमा व्याख्या गरेको सुन्दा नमिठो त लाग्यो तर पनि सदनमा जानकारी लिन खोजी गर्नु स्वाभाविक नै ठान्छु’, उहाँले भन्नुभयो ।
