काठमाडाैं । सरकारले देशका तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनकाे जिम्मा विदेशी कम्पनीलाई दिने तयारी गरेकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा सांसद्हरुले उठाएका प्रश्नकाे जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनकाे जिम्मा विदेशी कम्पनीलाई दिन सकिने संकेत गर्नुभयाे ।
सांसद्हरु दामोदर पौडेल बैरागी र जादेवी खातुनले साेधेकाे प्रश्नकाे जवाफ दिने क्रममा उहाँले घुमाउराे पारामा त्यस्ताे संकेत गर्नुभएकाे हाे । तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलहरू दिगो रूपमा सञ्चालन गर्न सार्वजनिक-निजी-साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेस गर्न कार्यसमिति गठन भएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । समितिको प्रतिवेदन तथा सिफारिस प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थलहरु सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त सञ्चालनको विधि तय गरी कार्यान्वयनमा ल्याइने पनि उहाँले बताउनुभयाे ।
प्रधानमन्त्री प्रचण्डलाई सांसद् पाैडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सम्बन्धमा विभिन्न देशबाट उडान हुन्छ भन्ने समाचार बेलाबेला आइरहन्छन् तर हालसम्म सरकारको ठोस र आधिकारिक धारणा आएको छैन किन ? त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरिने अन्तर्राष्ट्रिय उडान पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न सक्छौँ कि सक्दैनौँ ? भन्ने प्रश्न साेध्नुभएकाे थियाे । जवाफमा प्रधानमन्त्रीले भन्नुभयाे - 'पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वय गरी तदारुकतासाथ कार्य भइरहेको छ, अन्य मुलुकका अन्तर्राष्ट्रिय वायुसेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नका लागि विभिन्न छूटहरु तथा सहुलियतहरू माग गरेको हुँदा सो विषयमा समन्वय भइरहेको छ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलहरु दिगो रुपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेश गर्न कार्य समिति गठन भएको र समितिको प्रतिवेदन तथा सिफारिस प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थलहरु सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त सञ्चालनको विधि तय गरी कार्यान्वयनमा ल्याइनेछ ।'
पाैडेलकाे जवाफ दिने क्रममा उहाँले ती विमानस्थल सञ्चालनका लागि अन्तर्राष्ट्रिय समन्वयबारे छलफल भएकाे बताउनुभयाे ।प्रधानमन्त्रीले भन्नुभयाे - 'आज बिहान मात्रै पनि मैले सम्बन्धित मन्त्रालयसँग पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन बारेमा अन्तर्राष्ट्रिय समन्वयबारे छलफल गरेको छु, केही सकारात्मक र उत्साहबर्द्धक प्रगति भइरहेको जानकारी पाएको छु ।'
प्रधानमन्त्रीलाई सांसद् खातुनले ऋणमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा आजसम्म पनि नियमित उडान किन हुन सकिरहेको छैन ? र ऋणमा रहेको उक्त दुवै विमानस्थलको ऋण तिर्ने आधार के छ ? यसबारे प्रधानमन्त्रीज्यूको जवाफ चाहन्छु भन्ने प्रश्न गर्नुभएकाे थियाे । जवाफमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे - 'राष्ट्रिय गौरवको आयोजनाको रुपमा सम्पन्न पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याई समृद्धिको स्रोत र आधारको रुपमा उपयोग गर्न सकिने कुरामा म विश्वस्त छु, यी विमानस्थलहरूमा अन्तरूराष्ट्रिय वायुसेवाहरूबाट माग भएबमोजिमका छुट सुबिधा तथा सहुलियतहरूमा समन्वयको कार्य भइरहेको छ, यी दुवै विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न हामी प्रयासरत छौं र यसमा चाँडै नै निष्कर्ष आउनेछ, अहिले ऋण तिर्ने स्रोत र आधारको विषयभन्दा पनि उपयुक्त मोडालिटी विकास गरी विमानस्थलको सञ्चालन गर्न सरकार दृढ छ ।'
सरकारले त्रिभुवन, पाेखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसहित निजगढ विमानस्थल समेत प्याकेजमा पीपीपी मोडलमा निर्माण र व्यवस्थापनको जिम्मा दिने गरी प्रक्रिया अगाडि बढाएको छ । तर निकै महत्त्वपूर्ण र संवेदनशील मानिएको विमानस्थल समेत सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलको नाममा सरकारले निजी क्षेत्रलाई सुम्पिन लागेको भन्दै विराेध पनि भएकाे छ ।
