काठमाडाैं । प्रदेश बालिका संरक्षणसम्बन्धी विधेयक मधेश प्रदेश सभाबाट पारित भएकाे छ ।
शनिबार बसेकाे मधेश प्रदेश सभा बैठकले बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेकाे हाे ।
बैठकमा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवालले बालिका संरक्षण सम्बन्धमा बनेकाे विधेयक पारित गरियाेस् भन्दै प्रस्ताव पेस गर्नुभएकाे थियाे । साे प्रस्तावलाई निर्णयार्थ पेस गर्दै सभामुख रामचन्द्र मण्डलले विधेयक सर्वसम्मतिले पारित भएकाे घाेषणा गर्नुभयाे ।
त्यसअघि विधेयकमाथि छलफल भएकाे थियाे । छलफलमा १७ जना सांसद्ले भाग लिएका थिए । सांसद्का प्रश्नकाे मन्त्री जयसवालले जवाफ दिनुभएकाे थियाे ।
साे विधेयकका सम्बन्धमा महिला सांसद्काे भूमिका महत्वपूर्ण रहेकाे उहाँले बताउनुभयाे । साे विधेयक मुलुकमै पहिलाे भएकाे मन्त्री जयसवालले दाबी गर्नुभयाे । प्रहरी समायाेजन प्रदेश सरकारकाे बटमलाइन रहेकाे उहाँले बताउनुभयाे ।
अलपत्र परेका बालबालिकाकाे स्वामित्व ग्रहणका लागि विधेयकमा धेरै कुराहरु परिकल्पना गरिएकाे र कसैले स्वामित्व ग्रहण नगरे प्रदेशले अभिभावकत्व लिनुपर्ने व्यवस्था विधेयकमा रहेकाे मन्त्री जयसवालले बताउनुभयाे । मधेश प्रदेशले बेटी जिन्दावाद भन्ने सन्देश दिएकाे भन्दै उहाँले साे विधेयक कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेकाे बताउनुभयाे ।
