काठमाडौं । प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले निकुञ्ज र आरक्षण केन्द्रका कर्मचारी तथा सुरक्षाकर्मी स्थानीय नागरिक प्रति अमानवीय देखिएका बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै बर्तौलाले मकवानपुरको हेटौँडा–१४ का सुकबहादुर तितुङलाई पर्सा वन्यजन्तु आरक्षण केन्द्रका सुरक्षाकर्मीले गोली हानि हत्या गरेका भन्दै उहाँले आलोचना गर्नुभयो । सो घटनामा संलग्न सुरक्षाकर्मी र आदेश दिने वार्डेनलाई कारबाहीको दायरामा ल्याउन उहाँले माग गर्नुभयो । वन जङ्गलको संरक्षण गर्ने स्थानीय समुदायलाई नै आरक्षणका सुरक्षा कर्मीले ज्यान लिने काम गर्नु लोकतन्त्रकै उपहास भएको बर्तौलाले बताउनुभयो । ‘मध्यवर्ती र आरक्षण क्षेत्रका सुरक्षाकर्मीले सामान्य मानवीयता नराखी छातीमा गोली ठोकेर हत्या गरे’, उहाँले भन्नुभयो ।
बैठकमा बोल्दै बर्तौलाले घटनाका दोषी पहिचान गरी कारबाहीको प्रक्रिया अघि बढाउन र पीडितलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन उहाँले आग्रह गर्नुभयो । मध्यवर्ती र निकुञ्जले विकासका काम अघि बढाउने अवरोध गर्दै आएका प्रति उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । वन्यजन्तुले पुर्याएको क्षतिबाट आक्रान्त स्थानीयलाई आरक्षण केन्द्रले थप आतङ्कित बनाएको बर्तौलाले बताउनुभयो ।
