काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद् गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कि मन्त्री फेर्न कि सिंहदरबार छोड्न सुझाव दिनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभाको बैठककाे शून्य समयमा बोल्दै सांसद् थापाले काम नगर्ने र नटेर्ने मन्त्रीलाई फेर्न नसके प्रधानमन्त्री प्रचण्डले सिंहदरबार र बालुवाटार छाेड्नुपर्ने बताउनुभयाे ।
समानीकरण अनुदानका सन्दर्भमा स्थानीय सरकारका प्रमुखले प्रधानमन्त्रीलाई भेटेर सय प्रतिशत चाहिने बताएका तर जवाफमा प्रधानमन्त्रीले मेराे त मन थियाे मन्त्रीले मानेनन् भन्ने जवाफ दिनुभएकाे उहाँले बताउनुभयाे । 'स्थानीय सरकारका प्रमुखहरुले प्रधानमन्त्रीलाई गएर भेट्नुभएछ यो विषयमा, अनि १०० प्रतिशत चाहिन्छ भन्नुभएछ, अनि प्रधानमन्त्रीले भन्नुभएछ - मेरो त मन छ तर मन्त्रीले मानेनन्, प्रधानमन्त्रीलाई कतिपटक भन्ने हो, यो संसदीय व्यवस्था हो, यसमा के हुन्छ भने नटेर्ने मन्त्री फेर्ने, फेर्न नसक्ने भए सिंहदरबार र बालुवाटारबाट डेरा सर्ने' - सांसद् थापाले भन्दनुभयाे ।
सरकारले समानीकरण अनुदान कटौती गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयाे । समानीकरण अनुदान स्थानीय सरकारकाे संवैधानिक हक र संघीय सरकारकाे संवैधानिक दायित्व भएपनि संघीय सरकारले बकस दिएझैं गरिरहेकाे भन्दै सांसद् थापाले सरकारले समानीकरण अनुदानमा ७ प्रतिशत कटाैती गर्ने कुरा आएकाे बताउनुभयाे । 'वडाकाे क्षेत्राधिकारभित्र पर्ने कुरामा बजेट हाल्न नलजाउने, अनि स्राेत छैन भनेर अनुदान कटाैती गर्ने ? याे अस्वीकार छ, याे असंवैधानिक छ'- उहाँले भन्नुभयाे ।
