काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् डा. चन्दा कार्की भण्डारीले नर्सिङ क्षेत्रका चुनाैती तत्काल सम्बाेधन गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् कार्कीले मुस्कानसाथ जनसेवा गर्ने नेपालका नर्सहरुकाे मुस्कानभित्र दु:ख र पीडा लुकिरहेकाे भन्दै चिन्ता व्यक्त गर्नुभयाे ।
नर्सहरुका दरबन्दी, पारिश्रमिक र सुविधा न्यूान रहेकाे भन्दै उहाँले याेग्यता अनुसार दरबन्दी र जिम्मेवारी नपाएकाे बताउनुभयाे । 'हाल नेपालमा १५ सय ७ विशेष नर्ससहित १ लाख साढे २३ हजार नर्सहरु हुनुहन्छ, नर्सिङ सेवा स्वास्थ्य सेवाकाे मेरुदण्ड हाे, जसकाे सुधारबिना हाम्राे स्वास्थ्य प्रणाली सुदृढ र गुणस्तरीय बन्नै सक्दैन, मुस्कानकासाथ जनसेवा गर्ने यी नर्सहरुकाे मुस्कानभित्र दु:ख र पीडा झल्किएकाे देखिन्छ उनीहरुका दरबन्दी, पारिश्रमिक र सुविधा न्यून छन्, कार्यस्थल असुरक्षित छ, याेग्यता अनुसार दरबन्दी र जिम्मेवारी पाएकाे छैन, उच्च शिक्षा र तालिमकाे अवसर छैन, ४० प्रतिशत बढी नर्स बेराेजगार छन्, साढे ४० हजार नर्स विदेशिएका छन्'- सांसद् कार्कीले भन्नुभयाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्सहरुकाे सेवा सुविधामा सुधार गर्ने सार्वजनिक बाचा गरेपनि बजेटमा यसका लागि कुनैपनि याेजना नराख्नुभएकाे भन्दै उहाँले असन्तुष्टि जनाउनुभयाे । 'नर्सिङ सेवाकाे चुनाैती केवल नर्सहरुकाे मात्र हाेइन, देश, समाज र स्वास्थ्य प्रणालीकाे पनि हाे, गुणस्तरीय स्वास्थ्य सेवा जनतालाई प्रदान गर्न नर्सिङ पेसाकाे महत्व बुझेर नर्सिङ क्षेत्रका यी चुनाैतीकाे यथाशीघ्र सम्बाेधन गर्न सरकारकाे ध्यानाकर्षण गराउँछु'- सांसद् कार्कीले भन्नुभयाे ।
