काठमाडाैं । रक्षामन्त्री हरि प्रसाद उप्रेतीले विदेशी सुरक्षाकर्मी आएर इन्काउन्टर गर्दा नेपालका सुरक्षाकर्मीलाई थाहा नहुने अवस्था रहेकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा सांसद्ले उठाएका प्रश्नकाे जवाफ दिँदै मन्त्री उप्रेतीले भन्नुभयाे - 'कुनै अपराधी आएर लुक्याे, विदेशबाट आएकाे सुरक्षाकर्मीले इन्काउन्टर गर्दाखेरी नेपालका सुरक्षाकर्मीलाई थाहा हुँदैन, सुरक्षा परिषद्लाई थाहा हुँदैन त्याे अवस्था पनि छ ।'
तीन वटै सुरक्षा निकायबीच समन्वय गर्दै राष्ट्रिय सुरक्षा परिषद्लाई सशक्त र प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयाे । त्यसका लागि रक्षा मन्त्रालयकाे पहलमा राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयक तर्जुमा भइ प्रक्रियामा अगाडि बढेकाे मन्त्री उप्रेतीले बताउनुभयाे ।
विदेशमा गएर पासफाेर्ट र करेन्सी एउटै भए हुन्छ भन्ने अनि नेपालमा आएर नेपाली सेनाकाे विराेध गर्ने काम भइरहेकाे उहाँले बताउनुभयाे । राष्ट्रिय सुरक्षा सम्बन्धी वत्तव्यहरु दिने, विदेशमा गएर फेटा बाँध्दै पासफाेर्ट एउटै भएपनि हुन्छ भन्ने र यहाँ आएर नेपाली सेनाको विरोध गर्ने कुरालाई पनि जानकारीको रुपमा सुरक्षा परिषद्को विधेयकले त्यसलाई नियाल्नेछ, त्यो विधेयकलाई पनि यहाँ पारित गर्न जरुरी छ' - उहाँले भन्नुभयाे ।
नेपाली सेनाको भर्ना प्रक्रिया तथा सरुवा बढुवामा कुनै किसिमको भेदभाव नभएकाे मन्त्री उप्रेतीले दाबी गर्नुभयाे । उहाँले भन्नुभयाे - 'नेपाली सेनाको भर्ना प्रक्रिया तथा सरुवा बढुवामा भेद्भाव सम्बन्धमा प्रश्न उठेको छ, नेपाली सेनामा कुनै जात, जाति, धर्म, वर्ग, समुदाय र क्षेत्रको आधारमा भेदभाव हुँदैन र हुने छैन, त्यस्तो भएमा मेरो जानकारीमा आउँनुपर्याे ।'
सेनामा भेदभाव भए द्वन्द्वकाे अन्त्य नहुने बताउँदै मन्त्री उप्रेतीले भन्नुभयाे - 'किनकी नेपाली सेनाभित्र कुनै भेद्भाव भयो भने द्वन्द्वको कहिल्यै अन्त्य हुँदैन, जहाँ भेद्भाव हुन्छ त्यहाँ विद्रोह र द्वन्द्व हुन्छ, त्यहीबाट द्वन्द्व पीडित निस्कदा अर्को चरणको द्वन्द्व सुरु हुन्छ ।'
सेनामा समावेशी प्रकिया पूर्ण रुपमा लागू भएकाे, पछडिएका वर्गलाई आकर्षित गर्ने र सेनामा आकर्षित गर्न सामुदायिक विद्यालयमा विभिन्न सञ्चालन गरिएकाे उहाँले बताउनुभयाे । पहिला कुनै वर्गकाे प्रतिनिधित्व हुने भएकाे भएपनि अहिले हरेक क्षेत्रबाट नेपाली सेनामा प्रतिनिधित्व भइरहेकाे मन्त्री उप्रेतीले बताउनुभयाे ।
चुरे संरक्षण र प्रकृति संरक्षणमा नेपाली सेनाले का गर्दै आइरहेकाे उहाँले बताउनुभयाे । राष्ट्रिय सुरक्षामा सेनाकाे भूमिका महत्वपूर्ण रहेकाे मन्त्री उप्रेतीले बताउनुभयाे ।
लागूऔषधकाे काराेबार बढ्दा राम्रा मानिस गाउँमा बस्ने नसक्ने स्थिति आइरहेकाे उहाँले बताउनुभयाे । मन्त्री उप्रेतीले नयाँ युवाहरुमा राष्ट्रपतिकाे सेवाभाव कमजाेर हुँदै गइरहेकाे बताउनुभयाे ।
उहाँले तराई-मधेश फास्ट ट्याक ताेकिएकाे समयमै सम्पन्न हुने दाबी गर्नुभयाे । ०८३ चैतमा फास्ट ट्रयाकमा गाडी दाबी मन्त्री उप्रेतीले गर्नुभयाे ।
मन्त्री उप्रेतीले सामान्य अवस्थामा नेपाली सेना हतियार लिएर सीमा सुरक्षामा बस्न नमिल्ने प्रष्ट पार्नुभयाे । नेपाली सेनाले केही दूरीमा बसेर सीमा सुरक्षाको निगरानी गर्ने उहाँले बताउनुभयाे ।
नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृंखलताको कारणले गम्भीर संकट उत्पन्न भए मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपतिले सेना परिचालनको घोषणा गर्न सक्ने मन्त्री उप्रेतीले बताउनुभयाे ।त्यस्तो परिस्थिति आए सेना तयार रहेको पनि उहाँले बताउनुभयाे ।
