काठमाडाैं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले संसद्मा भन्दा खेल संघहरुमा डरलाग्दाे राजनीति हुने बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा सांसद्का प्रश्नकाे जवाफ दिँदै मन्त्री श्रेष्ठले खेल संघहरुमा संसद्मा भन्दा डरलाग्दाे राजनीति भएकाे तिताे अनुभव आफूले बटुलेकाे बताउनुभयाे । '२-३ वटा अनुभव मेरा लागि तिताे भएकाे छ, खेलाडीहरुकाे हक हित भन्दा पनि त्यहाँ संघहरुबीचकाे राजनीति डरलाग्दाे हुँदाे रहेछ, याे संसद्मा भन्दा डरलाग्दाे राजनीति त्यहाँ हुँदाे रहेछ, २०४७ सालदेखिका विवाद समाधान गरेर बस्नुपरेकाे छ'- उहाँले भन्नुभयाे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) लगायत खेल संघमा रहेका समस्या समाधानमा आफू केन्द्रित भइरहेकाे मन्त्री श्रेष्ठले बताउनुभयाे । खेल क्षेत्रमा थुप्रै चुनाैती रहेका र शासकीय बेथिति धेरै रहेकाे उहाँले बताउनुभयाे । शासकीय बेथिति सुधार गर्न सबै एक ठाउँमा हुनुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयाे ।
खेलकुद एेन संशाेधन गर्ने तयारी भइरहेकाे उहाँले बताउनुभयाे । खेल युनिर्भसिटीका लागि केयुसँग सम्झाैता भइसकेकाे भन्दै मन्त्री श्रेष्ठले बताउनुभयाे ।
टुक्रे बजेट बाँड्नुभन्दा देशले एउटा गर्व गर्न लायक एउटा रंगशाला बनाइने पनि उहाँले बताउनुभयाे । युवालाई सेनाकाे तालिम भन्दा पनि युवाहरुलाई प्रतिरक्षाका आधारभूत ज्ञानबारे तालिम दिइने मन्त्री श्रेष्ठले बताउनुभयाे ।
