काठमाडाैं । खानेपानीमन्त्री राजेन्द्र राईले आफूले कुरा नभएर काम गरेर व्यवहारमा देखाउने बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षका लागि मन्त्रालयले विनियोजन गरेको बजेटमाथि सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री राईले भन्नुभयाे - 'म व्यवहारमा देखाउने मान्छे, म धेरै कुरा गर्दिन, कामप्रति विश्वास राख्छु, सबैकाे सुझावलाई मनन गर्दै काम गर्छु ।'
आफू मन्त्री भएपछि खानेपानी खान पाइएन भनेर काेही नआएकाे भन्दै उहाँले विस्तार गर्नका लागि प्रस्ताव आएकाे बताउनुभयाे । सबै नेपाली जनतालाई खानेपानी खुवाउन मन्त्रालय प्रतिबद्ध रहेकाे मन्त्री राईले बताउनुभयाे । अर्काेपटक प्रश्न नउठ्ने गरी काम गर्ने प्रतिबद्धता जनाउँदं उहाँले भन्नुभयाे - तपाइँहरु ढुक्क हुनुस्, तपाइँहरुले अर्काे पटक प्रश्न नउठाउनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु, तपाइँहरुले दिएका सुझाव सल्लाहलाई शीरमा राखेर काम गर्ने प्रतिबद्धता पनि जनाउँछु ।'
एउटै बजेटले सबै समस्या समाधान नहुने बताउँदै मन्त्री राईले भन्नुभयाे - 'सबै माननीयज्यूहरुले भनेकाे याेजना समावेश गरेकाे छु, सायद सबैले दिएका याेजना समेट्ने खानेपानी मन्त्रालय मात्र हाे ।' आफूले धनकुटामा कति बजेट विनियाेजन भयाे भनेर हिसाब नगरेकाे उहाँले बताउनुभयाे ।
मन्त्रालयले सबै सांसद्का मागलाई सम्बाेधन गरेकाे भन्दै बाँकी रहेकालाई पनि सम्बाेधन गर्ने प्रयत्न गरेकाे मन्त्री राईले बताउनुभयाे । धनगढी लगायत ठाउँका लागि २४ अर्ब बराबरकाे सहयाेग भएकाे मन्त्री राईले बताउनुभयाे ।
मेलम्चीमा यसअघिकाे बाढीले पुर्याएकाे क्षतिका कारण काठमाडौंमा केही समयपछि मेलम्चीको पानी बन्द हुने उहाँले बताउनुभयाे । 'हिलाे आउने भएकाले केही समयपछि बन्द गर्ने कुरा छ ।'
खानेपानीका लागि लाइनमा बस्न नपर्ने र खाजेपानी बाेकेर हिँड्नुपर्ने अवस्था सृजना हुन नदिइने बताउनुभयाे ।
