काठमाडाैं । नेकपा एमालेका सांसद् ठाकुर प्रसाद गैरेले भ्रष्टाचार विरुद्ध अझ निर्मम बन्न सरकारलाई आग्रह गर्नुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् गैरेले सरकारकाे मुख्यसचिव जस्ताे पदमा रहेकाे व्यक्तिमाथि भ्रष्टाचारकाे मुद्दा दायर हुने परिस्थितिले निजामती सेवा कति समस्याग्रस्त छ भन्ने उजागर भएकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'भ्रष्टाचार विरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायकाे गम्भीर ध्यानाकर्षण गराउँछु, यसले हामी सबैलाई लज्जित तुल्याएकाे छ, माथि भन्नुस्, माथिकाे आदेश छैन, माथि मिलाउनुपर्छ, भाेलि आउनुस् जस्ता स्वरले आम सेवाग्राहीलाई आजित बनाइरहेकाे हुन्छ, त्यसमाथि देशकाे स्थायी सरकारकाे प्रमुख पदमा रहेकाे मुख्यसचिव जस्ताे व्यक्तिमाथि अख्तियारद्वारा भ्रष्टाचारकाे मुद्दा दायर हुने परिस्थितिकाे निर्माणले हाम्राे निजामती सेवा क्षेत्र कति समस्याग्रस्त छ भन्ने कुरा यसले बताउँछ ।'
'हाम्राे निजामती क्षेत्रभित्र रहेकाे भ्रष्टाचारकाे जालाे कति मजबुत छ भन्ने कुरा पनि यसले बताउँछ, याे कुरा निजामती सेवामा मात्र रहेर सीमित रहेर सम्भव छ ? यसमा राजनीतिक नेतृत्व र अरु तहकाे संलग्नतालाई पनि गहिराईबाट हेरेर यसकाे निदान गर्नेतर्फ ढिलाइ गर्नुहुँदैन ।'
