काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद् रमा काेइरालाले सुपारी निर्यातकाे व्यवस्था मिलाउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् काेइरालाले झापाका किसानहरु आफूले उत्पादन गरेकाे सुपारी निर्यात गर्न नपाउँदा मर्कामा परेका बताउनुभयाे ।
सुपारी आयात गर्ने व्यवस्था रहेकाे तर निर्यातका लागि प्रतिबन्ध रहेकाे भन्दै उहाँले प्रतिबन्ध फुकुवा गर्न माग गर्नुभयाे । 'झापा एउटा सुपारी खेतीकाे उद्गम स्थल हाे, त्यहाँ धेरै सुपारी उत्पादन हुन्छ, सुपारी किसानहरु अहिले मर्कामा परेका छन्, सरकारले सुपारी आयात गरेकाे छ तर निर्यात गर्नका लागि प्रतिबन्ध लगाएकाे छ, त्यसैले सुपारी किसानकाे मर्कालाई बुझेर सरकारले चाँडाे भन्दा चाँडाे सुपारी निर्यात गर्ने प्रबन्ध मिलाइदिओस्'- सांसद् काेइरालाले भन्नुभयाे ।
धान खेती मासेर सुपारी उत्पादन गरेका किसानकाे श्रमलाई प्राेत्साहन गर्न पनि उहाँले सरकारसँग माग गर्नुभयाे ।
अवैध रुपमा इराक पुर्याइएका ५ जना नेपाली चेली अहिले त्यहाँ बन्दक अवस्थामा रहेकाे समाचार बाहिरिएकाे भन्दै सांसद् काेइरालाले तत्काल उनीहरुकाे उद्धार गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
