काठमाडाैं । अमेरिकी एयर फोर्सका सैनिक जहाज नेपालमा आएकाे विषय प्रतिनिधि सभामा उठेकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सत्तारुढ माओवादी केन्द्रका सांसद् पूर्णबहादुर घर्तीले ०८१ वैशाख र यही असारमा अमेरिकी एयर फाेर्सका जहाज नेपाल आएर फर्किएकाे विषय उठाउँदै सरकारकाे गम्भीर ध्यानाकर्षण गराउनुभयाे ।
नेपालकाे सार्वभौमसत्ता र सुरक्षा संवेदनशीलताको अवस्था गम्भीर रहेकाे कुरा विज्ञहरुले बताइरहेका भन्दै उहाँले यी गतिविधिप्रति चिन्ता व्यक्त गर्नुभयाे । 'शक्तिशाली राष्ट्रहरुको आफू महाशक्ति हुने होडबाजीमा भइरहेकाे शैन्य गठबन्धन र कमजाेर राष्ट्रहरुमा विभिन्न बहानामा भइरहेकाे हस्तक्षेपकाे सन्दर्भमा नेपालको अस्थिर राजनीति र शक्ति राष्ट्रहरुकाे इन्ट्रेसका कारण नेपालकाे सार्वभौमसत्ता र सुरक्षा संवेदनशीलताको अवस्था गम्भीर रहेकाे कुरा विभिन्न विज्ञहरुले व्यक्त गर्दै आइरहेका छन्'- सांसद् घर्तीले भन्नुभयाे ।
गत वैशाख ६, ७, ८ र ९ तथा असार २ गते अमेरिकी एयर फोर्सका सैनिक जहाज नेपालमा किन र के का लागि आए भन्ने प्रश्न उहाँले सरकारलाई गर्नुभयाे । 'यसै सन्दर्भमा गत वैशाख ६, ७, ८ र ९ गतेसम्म अमेरिकी एयर फोर्सका ५ वटा जहाज कतारबाट प्रत्येक साँझ आउने र बिहान फर्किने गरे, असार २ गते पनि मलेसियाबाट साेही एयरफोर्सको जहाज साँझ आएर बिहान फर्कियाे, ती जहाजमा के सामान आयो ? कसका लागि ल्याइयो ? सामान्य हो भने प्राइभेट जहाजमा आउनुपर्ने, सैन्य सामग्री हो भने किन र के प्रयोजनका लागि ल्याइयो ? यसबारे सञ्चारमाध्यममा कुरा आएन, यस्ताे गम्भीर विषयमा सरकार र संसद्को ध्यानाकर्षण गराउँछु'- सांसद् घर्तीले भन्नुभयाे ।
उहाँले संसद्का कर्मचारीकाे न्यायाेचित माग पूरा गर्न पनि सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
